‘सिन्दुरे जात्रा’को छायांकन सम्पन्न, मंसिर ४ मा प्रदर्शन हुने


ब्युटी न्युज नेपाल
काठमाडौँ, १३ साउन

नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ को सफल टिम पुनः एकसाथ आएको चलचित्र ‘सिन्दुरे जात्रा’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। पर्वतदेखि सुरु भएको फिल्मको सुटिङ मुख्य अभिनेता विजय बराल घाइते भएपछि केही समय रोकिए पनि दोस्रो चरणको काम सफलतापूर्वक सम्पन्न गर्दै निर्माण टोलीले छायांकन टुंग्याएको हो।

सिन्दुरे जात्रामा विजय बराल, अञ्जना बराइली, विनोद न्यौपाने, रामप्रसाद खनाल, कमलमणि नेपाल, लोकेन्द्र लेखक, भोलाराज सापकोटा, पूर्व मिस नेपाल उषा खड्गी, हिउँवाला गौतम, राकेश खड्का र रजनी गुरुङलगायत कलाकारको अभिनय रहेको छ।

निर्देशक सरोज पौडेलका अनुसार जेठ १ गते पर्वतको कुस्मा नगरपालिका–आर्थर डाँडाखर्कबाट सुरु भएको छायांकन दुई चरणमा सम्पन्न गर्न करिब ४० दिन लागेको थियो। पहिलो चरणपछि अभिनेता विजय बरालको दाहिने हातको नाडीमा चोट लागेपछि सुटिङ स्थगित गरिएको थियो। स्वास्थ्य लाभपछि पुनः सुरु गरिएको छायांकन मंगलबार सम्पन्न भएको हो।

निर्देशक पौडेलले सम्पूर्ण कलाकार तथा प्राविधिक टोलीको समर्पणले फिल्म सफलतापूर्वक छायांकन गर्न सम्भव भएको बताए। उनले दर्शकले मंसिर ४ गते गुणस्तरीय र मनोरञ्जनात्मक चलचित्र हेर्न पाउने विश्वास व्यक्त गरे।

विजय बरालले पनि चोटका बाबजुद काम सम्पन्न गर्न पाउँदा सन्तुष्टि लागेको उल्लेख गर्दै आफ्नो पात्र र फिल्मको कथावस्तुप्रति निकै उत्साहित रहेको बताए।

सरोज पौडेलको कथामा सबिन अधिकारी र वसन्त न्यौपानेको पटकथा तथा संवाद रहेको चलचित्र सारङ्गी फिल्म्सको प्रस्तुति हो। दिनेश खड्का कार्यकारी निर्माता रहेको यस चलचित्रमा पदमबहादुर श्रेष्ठ (बाबु) को छायांकन, नहकुल खड्काको सम्पादन तथा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत रहेको छ। रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी वितरण गर्ने यो चलचित्र आगामी मंसिर ४ गते प्रदर्शनमा आउनेछ।