गुरु पूर्णिमाको अवसरमा स्मार्ट जुम्बाका प्रशिक्षार्थीले सुनाए सकरात्मक अनुभव


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ साउन

गुरु पूर्णिमाको अवसर पारेर स्मार्ट जुम्बा मच्छेगाउँले विशेष जुम्बा सत्र, शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ। स्वास्थ्य, अनुशासन र गुरु–शिष्य परम्पराको सम्मानलाई जोड दिँदै आयोजित कार्यक्रममा विभिन्न उमेर समूहका महिला तथा अन्य सहभागीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

अध्यक्ष बिनोद थापा र प्रबन्ध निर्देशक सरिता पोखरेलको आयोजनामा सम्पन्न कार्यक्रममा प्रशिक्षकप्रति सम्मान व्यक्त गर्दै सहभागीहरूले गुरु पूर्णिमाको शुभकामना आदानप्रदान गरेका थिए। त्यसपछि आयोजित जुम्बा अभ्यास र अनुभव आदानप्रदान कार्यक्रममा सहभागीहरूले नियमित व्यायामले आफ्नो जीवनशैलीमा ल्याएको सकारात्मक परिवर्तनबारे धारणा राखेका थिए।

समारोहमा सहभागीहरु सिता कुँवर, सोनु बिष्ट, इन्दिरा घिमिरे, सन्जु थापा, गीता थापा, बिकास जैन, पुष्पा पौडेल, बिमला श्रेष्ठ, उर्मिला थापा, बुद्धलक्ष्मी महर्जन, रुपा श्रेष्ठ, पुष्पा श्रेष्ठ, रमा बस्नेत, राधिका आचार्य, लक्ष्मी महर्जन, सुन्दरी सेन्चुरी, उत्तम सेन्चुरी, मिना राउत, डि आर खनाललगायतले आफ्ना अनुभव शेयर गरेका हुन् ।

उनीहरूले विगतमा सामान्य शारीरिक गतिविधिमा समेत कठिनाइ हुने, पटक–पटक अस्पताल जानुपर्ने र औषधिमा निर्भर रहनुपर्ने अवस्था रहेको स्मरण गर्दै नियमित जुम्बा अभ्यासपछि स्वास्थ्यमा उल्लेखनीय सुधार आएको बताए। शरीरका विभिन्न दुखाइ कम हुनुका साथै दैनिक कामकाजमा ऊर्जा र सक्रियता बढेको उनीहरूको अनुभव थियो।

कार्यक्रममा सहभागीहरूले स्वस्थ जीवनका लागि नियमित व्यायाम र पसिना बगाउने बानी आवश्यक रहेको उल्लेख गर्दै सबैलाई सक्रिय जीवनशैली अपनाउन आग्रह गरेका थिए। अन्त्यमा चियापानसहित सम्पन्न कार्यक्रममा आयोजक बिनोद थापाले यस्ता स्वास्थ्य प्रवर्द्धनमुखी गतिविधिले समाजमा व्यायामप्रतिको आकर्षण बढाउने र स्वस्थ जीवनशैली विकास गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।