मास्टर्नी’को टिजरमा देखियो क्राइम थ्रिलर जनरा


ब्युटी न्युज नेपाल
काठमाडौँ, १० साउन

चलचित्रको ’मास्टर्नी’ रहेकाले यो विधार्थीलाई शिक्षा दिने सन्देश मुलक चलचित्र हुनु पर्ने दर्शकको अनुमान रहेको थियो । तर टिजर सार्वजनिक भएसँगै यो फरक चलचित्र भएको रहस्य खुलेको छ । यो क्राईम थ्रिलर जनराको चलचित्र भएको टिजरले जनाएको छ । प्रियंका कार्की जोशी, सिम्रन खड्का, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले, रक्षा थापा लगायतका कलाकार टिजरमा प्रस्तुत भएका छन्।

आमा र छोरीको भावनात्मक सम्बन्ध र छोरीको रक्षाका लागी आमाले के गर्न सक्छिन् भन्ने कुरा टिजरले जनाएको छ । एक लासबाट सुरु भएको टिजरको दृश्य र छोरीको सुरक्षा भन्दा ठुलो अरू केही छैन भन्ने संवादले चलचित्रमा एक आमाले आफ्नी छोरी बचाउन के सम्म गर्न सक्छिन् भन्ने कथा प्रस्तुत भएको प्रस्ट देखिन्छ। क्राइम थ्रिलर/फ्यामेली ड्रमा जनरामा निर्मित चलचित्रको ट्रेलरमा प्रमुख कलाकारलाई स्थान दिइएको छ। राजेन्द्र मोक्तानको कलर रहेको टिजरको ध्वनि मिश्रण मुकेश शाहले गरेका छन्।

चलचित्रलाई प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा तयार पारेका छन्। सुरक्षा सिंह मलहोत्रा र सिमोस सुनुवार चलचित्रको कार्यकारी निर्माता हुन्। भारतीय प्राविधिक टिमले काम गरेको चलचित्रको पोस्ट प्रोडक्सनको काम नेपाल र भारत दुवै स्थानमा भइरहेको छ। सुवेन्दु घोषको निर्देशनमा तयार भएको यो चलचित्रको कथा प्रियंकाले लेखेकी हुन् भने पटकथा शान बस्नेतले तयार पारेका छन्। संवाद लेखनमा प्रियंका कार्की र शान बस्नेतको सहकार्य छ।

युवराज इन्दोरियाको छायाङ्कन तथा राजा सिंह सिदुको सम्पादन रहेको चलचित्र भदौ ५ गतेबाट प्रदर्शनमा आउंदैछ। चलचित्रमा रोहित शाक्यको सङ्गीत, त्रिशाला गुरुङको गायन रहेको छ। चलचित्रको पोस्टर डिजाइन तथा पब्लिसिटी पार्टनर रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) रहेको छ। चलचित्रलाई नेपालमा आरआर फिल्मसले वितरण गर्नेछ।