दिलमा ठाउँछ…भन्दै पारस र दिब्याको रोमान्स


ब्युटी न्युज नेपाल
काठमाडौँ, ८ साउन

आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘बेहुली’ले आफ्नो पहिलो प्रमोशनल गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँको चाबहिलस्थित एफक्युब सिनेमा हलमा आयोजित विशेष कार्यक्रममा गीत सार्वजनिक गरिएको हो। लोक स्वाद र आधुनिक प्रस्तुतिको संयोजनमा तयार पारिएको गीतले चलचित्रप्रति दर्शकको उत्साह थप बढाउने अपेक्षा निर्माण पक्षले गरेको छ।

गीतमा निर्माता तथा संगीतकार अर्जुन पोखरेलको शब्द र संगीत रहेको छ। अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रबि ओडको स्वर रहेको गीतको मिक्सिङ तथा मास्टरिङ नरेश बीबीसीले गरेका हुन्। निर्माता पोखरेलले चलचित्रको प्रचार अभियानलाई प्रभावकारी बनाउन फरक शैलीको गीत तयार गरिएको बताउँदै यसले दर्शकमाझ चलचित्रको आकर्षण अझ बढाउने विश्वास व्यक्त गरे। गीत ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की र पदम तामाङ आकर्षक नृत्य र रोमान्टिक प्रस्तुतिमा देखिएका छन्। सियोन श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा कलाकारहरूको केमेस्ट्रीलाई विशेष रूपमा प्रस्तुत गरिएको छ, जसले कार्यक्रममा उपस्थित सञ्चारकर्मीबाट समेत सकारात्मक प्रतिक्रिया पाएको थियो।

यसअघि सार्वजनिक भएको चलचित्रको फर्स्ट लुक पोस्टरले सामाजिक सञ्जालमा व्यापक चर्चा बटुलेको थियो। नयाँ गीतले त्यस उत्साहलाई थप उचाइमा पुर्‍याउने यस गीतका संगीतकार एवम् निर्माता अर्जुन पोखरेलले लिएका छन् । सशान कँडेल निर्देशित तथा माधव शर्माले लेखेको ‘बेहुली’मा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा लगायत कलाकारको अभिनय रहेको छ। द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति रहेको चलचित्रका निर्माता प्रताप शमशेर राणा हुन् भने अर्जुन पोखरेल प्रस्तुतकर्ता रहेका छन्। काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स र उपत्यकाबाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले चलचित्र वितरण गर्नेछन्।