चलचित्र हलीको ट्रृेलरमा छाउपडीको मार्मिक पीडा


ब्युटी न्युज नेपाल
काठमाडौँ, ८ साउन

सामाजिक यथार्थमा आधारित नेपाली फिल्म ‘हली’ प्रदर्शनअघि नै चर्चामा आएको छ। आगामी साउन २२ गते देशभर प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलर शुक्रबार सार्वजनिक गरिएको हो। ओएसआर डिजिटलमार्फत सार्वजनिक ट्रेलरले पश्चिम नेपालमा अझै पनि विद्यमान छाउप्रथाको पीडादायी यथार्थलाई मार्मिक ढंगले प्रस्तुत गर्दै दर्शकको ध्यान खिचेको छ।

ट्रेलरमा महिनावारी भएका कारण किशोरीलाई विद्यालय जान नदिने, परिवारबाट अलग्गै राख्ने तथा पुरुषको अनुहारसमेत हेर्न नहुने जस्ता विभेदपूर्ण परम्परालाई चित्रण गरिएको छ। त्यही सामाजिक कुरीतिविरुद्ध चेतना फैलाउने प्रयास फिल्मले गरेको देखिन्छ।

ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माता पूजा गुरुङले ‘हली’ केवल मनोरञ्जनका लागि नभई समाज परिवर्तनको सन्देश बोकेको फिल्म भएको बताइन्। उनका अनुसार परिवर्तनका लागि ठूलो भाषणभन्दा सही सोच र एउटा साहसी व्यक्तिको पहल नै पर्याप्त हुन सक्छ। निर्देशक ओम प्रतिकले पनि वास्तविक घटनाबाट प्रेरित भएर फिल्म निर्माण गरिएको उल्लेख गर्दै समाजको चेतनास्तर परिवर्तन गर्नु नै यसको मुख्य उद्देश्य रहेको बताए।

पूजा गुरुङ र जस्मिन श्रेष्ठको निर्माण रहेको फिल्मको लेखन तथा निर्देशन ओम प्रतिकले गरेका हुन्। फिल्ममा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडी तथा निर्देशक ओम प्रतिक स्वयंको अभिनय रहेको छ।

जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्सको सहकार्यमा निर्माण भएको ‘हली’मा शम्भुजित बास्कोटा र कृष्ण भारद्वाजको संगीत रहेको छ। राहुल राईको छायांकन, रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्मलाई नेसनल सिने ग्रुप प्रालिले वितरण गर्नेछ।