चलचित्र अक्षराको डिजिटल राइट्स बिक्री


ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ साउन

आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘अक्षरा’ले प्रदर्शनअघि नै आफ्नो डिजिटल यात्रा सुनिश्चित गरेको छ। निर्देशक विनयराज पौडेलको निर्देशनमा बनेको यस चलचित्रको सम्पूर्ण डिजिटल अधिकार मुभिज डिजिटेनमेन्टले खरिद गरेको निर्माण पक्षले जनाएको छ।

यससँगै चलचित्रका ट्रेलर, गीत, प्रचार सामग्री तथा प्रदर्शनपछि सार्वजनिक हुने डिजिटल संस्करण मुभिज डिजिटेनमेन्टमार्फत दर्शकमाझ ल्याइनेछ। यस सम्बन्धमा निर्माण पक्ष र डिजिटल कम्पनीका प्रतिनिधिबीच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो। निर्देशक पौडेलका अनुसार चलचित्रको युट्युब प्रतिलिपि अधिकारसमेत बिक्री भइसकेकाले सम्पूर्ण सामग्री एउटै आधिकारिक प्लेटफर्ममार्फत उपलब्ध हुनेछ।

‘१२ गाउँ’बाट चर्चामा आएकी अभिनेत्री न्यान्सी खड्का र अभिनेता सुशील सिटौला मुख्य भूमिकामा रहेको चलचित्रमा सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सृष्टि खड्का तथा बालकलाकार रोनक खड्का र प्रीसा ढुङ्गानाको पनि अभिनय रहेको छ।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको चलचित्रमा सोनी थापा (ढुङ्गाना)को प्रस्तुति, उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाको लगानी रहेको छ। उग्रसेन ढुङ्गानाकै कथामा अभिमन्यु निरवी र निर्देशक पौडेलले पटकथा तथा संवाद तयार गरेका हुन्। सुरेन्द्र रानाको शब्द, कर्णराज गिरीको संगीत तथा अञ्जु पन्त, समीक्षा अधिकारी, रचना रिमाल र एसडी योगीको स्वर रहेको चलचित्रलाई दीपक दंगालले नेसनल सिने ग्रुप नेपालको तर्फबाट वितरण गर्नेछन्।