ब्युटी न्युज नेपाल
काठमाडौं, ५ साउन
निर्देशक एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको नेपाली चलचित्र ‘चमेलीको पोइ’ को शीर्ष गीत ‘ओइ ओइ चमेली, तिम्रा शेरे खोइ…’ सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको गीतमा राजनराज शिवाकोटी र इन्दिरा जोशीको स्वर, निर्देशक बोहराको शब्द तथा राजनराजकै संगीत रहेको छ। कबिराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा नारायण त्रिपाठी, सुरक्षा पन्त र विल्सन विक्रम राई आकर्षक रूपमा प्रस्तुत भएका छन्।
गीत सार्वजनिक कार्यक्रममा अभिनेत्री सुरक्षा पन्तले चलचित्रप्रति आफू निकै आशावादी रहेको बताइन्। निर्देशक बोहरासँग यसअघि ‘भैरे’ मा सहकार्य गरिसकेको स्मरण गर्दै उनले यसपटक आफूले फरक शैलीको कमेडी तथा यथार्थमा आधारित भूमिका निर्वाह गर्न पाएको बताइन्। अभिनेता मुकुन भुसालले पनि सुरक्षासँग पहिलो पटक सहकार्य गर्न पाएको खुसी व्यक्त गर्दै चलचित्रबाट राम्रो प्रतिक्रिया आउने विश्वास व्यक्त गरे।
कार्यक्रममा गायक तथा संगीतकार राजनराज शिवाकोटीले लोकआधुनिक शैलीको यो गीत दर्शक–श्रोताले मन पराउने विश्वास व्यक्त गरे। केही समय संगीतबाट विश्राम लिए पनि अहिले पुनः सक्रिय भएको उल्लेख गर्दै उनले ‘ओइ ओइ चमेली’ आफ्नो चर्चित सिर्जनामध्ये एक बन्ने अपेक्षा राखे। निर्देशक बोहराले पनि यसअघि ‘ठूली’ फिल्मको लोकप्रिय गीतझैँ यस गीतले पनि दर्शकको मन जित्ने दाबी गरे।
निर्माता रामनारायण उपाध्याय र सुनिता सापकोटाले चलचित्रको सम्पूर्ण निर्माण पक्षप्रति सन्तुष्टि व्यक्त गर्दै यो आफ्नो पहिलो चलचित्र भए पनि आगामी दिनमा निरन्तर चलचित्र निर्माण गर्ने योजना रहेको बताए। उनीहरूका अनुसार चलचित्रका विशेष प्रदर्शन अमेरिकामा समेत भइरहेका छन् र प्रारम्भिक प्रतिक्रिया उत्साहजनक रहेको छ।
धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा बनेको यस चलचित्रबाट करिब डेढ दशकपछि हास्य अभिनेता नारायण त्रिपाठी (प्रेमचरो) ले नेपाली चलचित्रमा पुनरागमन गरेका छन्। चलचित्रमा मुकुन भुसाल, सुरक्षा पन्त, विल्सन विक्रम राई, रविन्द्र झा, उमेश राईलगायतका कलाकारको अभिनय रहेको छ। शेरबहादुर तामाङको छायांकन, बन्देप्रसादको सम्पादन, कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्नेछ।

