चलचित्र ‘बम्पर चिठ्ठा’ निर्माण घोषणा


ब्युटी न्युज नेपाल
काठमाडौँ, २ साउन

स्याडो पिक्चर्सको ब्यानरमा निर्माण हुने ‘बम्पर चिठ्ठा’ को थिम पोस्टर सार्वजनिक गर्दै यसको निर्माणको औपचारिक रूपमा निर्माण घोषणा गरिएको हो । चलचित्रलाई बिक्की महर्जनले निर्देशन गर्नेछन् भने अमित अग्रहरि र निशा गुइदे निर्माता रहेका छन् ।

नेपाली मौलिक कथा, संस्कृति र समकालीन मनोरञ्जनलाई विश्वसामु प्रस्तुत गर्ने उद्देश्यका साथ यो चलचित्र निर्माण गर्न लागिएको निर्माण टिमले जनाएको छ । चलचित्र नेपाली, हिन्दी, तेलुगु र फ्रेन्च गरी चार भाषामा निर्माण हुनेछ र विश्वव्यापी रूपमा अमेजन प्राइम भिडियो मार्फत प्रदर्शन गरिनेछ । यसमार्फत चलचित्र २४० भन्दा बढी देशमा रहेका दर्शकमाझ पुग्ने दाबी निर्माण टिमको छ ।

नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा थप मजबुत रूपमा स्थापित गर्ने दिशामा यो परियोजना महत्वपूर्ण कदम हुने अपेक्षा गरिएको छ । चलचित्रको कथा निर्देशक महर्जन स्वयंले लेखेका हुन् । कलाकार तथा अन्य प्राविधिक टोलीबारे विस्तृत जानकारी भने आगामी चरणमा सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।

यसैबीच, यही टिमले निर्माण गरेको चलचित्र ‘आउट ल’ आगामी सेप्टेम्बरमा अमेजन प्राइम भिडियो मार्फत विश्वव्यापी रूपमा रिलिज हुँदैछ । ‘आउट ल’को प्रदर्शनपछि ‘बम्पर चिठ्ठा’ निर्माणको काम तीव्र गतिमा अघि बढाइने निर्माण टिमले जानकारी दिएको छ ।