काठमाडौं, १ साउन
आगामी असोज ९ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘जदौं’ ले प्रचार अभियानको सुरुआत गर्दै आफ्नो शीर्ष गीत ‘जदौं हजुर’ सार्वजनिक गरेको छ। सार्वजनिक गीतमा गायक तथा संगीतकार राजनराज शिवाकोटी र गायिका रचना रिमालको स्वर रहेको छ भने भिडियोमा चलचित्रका मुख्य कलाकारहरूको आकर्षक प्रस्तुति समेटिएको छ। गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।
ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र मनोरञ्जनात्मक कथावस्तुमा आधारित चलचित्रमा मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रभात पाल ठकुरी र नवअभिनेत्री राजश्री थापाको प्रमुख भूमिका रहेको छ। यसका साथै विनोद न्यौपाने, नरेश पौडेल, विशाल पहारी, रोमा बिष्टालगायतका कलाकारहरूको पनि अभिनय रहेको छ। अतिथि कलाकारका रूपमा सीपी पुडासैनी (धतुरे) र बाल कलाकार अर्जुन भण्डारी पनि चलचित्रमा देखिएका छन्।
सामिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुति तथा सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिको सहकार्यमा निर्माण भएको चलचित्रको कथा, पटकथा र संवाद कागी लिम्बुले लेखेका हुन्। चलचित्रको संयुक्त निर्देशन अञ्जन शर्मा र कागी लिम्बुले गरेका छन्। सृजना शर्मा र मनीष शर्मा निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता शान्ति पुडासैनी हुन्।
श्याम तामाङ र नवराज उप्रेतीको छायांकन रहेको चलचित्रको वितरण एनजीसीएनले गर्नेछ। निर्माण पक्षले शीर्ष गीत सार्वजनिक भएसँगै चलचित्रको प्रचारप्रसारलाई थप प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ।

