ब्युटी न्युज नेपाल
काठमाडौँ, १ साउन
नेपाली चलचित्र ‘हली’को मार्मिक गीत ‘कहाँबाट ल्याउ बाबा पिडाभुल्ने मुटु’को भिडियो आज साउने सक्रान्तिको अवसर पारेर रिलिज गरिएको छ । गीतमा संकट परेको समयमा सन्तानले बुवाप्रति शब्द मुख्य पात्रले खर्चिएका छन्। यहीँ साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको यो गीतलाई यसै फिल्मका अभिनेता प्रमोद दिपले लेखेका हुन् । जसमा संगीत अभि सुनारको छ। यस्तो मार्मिक गीतलाई चर्चित गायिका अस्मिता अधिकारीले गाएकी छन्। गीतको भाव अनुसार नै छायांकन भएको यो गीतको भिडियोमा फिल्मका कलाकारले उदाहरणिय अभिनय गरेका छन्। चलचित्रलाई पूजा गुरुङ र जस्मिन श्रेष्ठले निर्माण गरेका हुन् ।
यस फिल्मलाई निर्देशक ओम प्रतिकले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की,सरोज खनाल,अरुणा कार्की, अर्जुन गुरुङ,नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीको अभिनय रहेको छ। साथै,स्वयम् निर्देशक ओम प्रतीकले पनि मुख्य भूमिकामा छ।
यस फिल्मको एउटा प्रमोसनल गीतमा अभिनेत्री दीपाश्री निरौला,पूजा शर्मादेखि मिथिला शर्मासम्मले अभिनय गरेका छन्। जुन दर्शकमाझ निकै लोकप्रिय पनि बन्यो। यो गीतले पनि दर्शकलाई आकर्षण गर्न सक्छ भन्ने कुरा निर्माण पक्षको भनाई छ। जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायु फिल्मस्को सहकार्यमा निर्माण भएको यस फिल्मको कथा क्रान्तीकारी शैलीको छ। जहाँ देशमा परिवर्तन ल्याउनका लागि एक जना ‘हली’ नै काफी हुन्छ भन्ने सन्देश दिने निर्माण पक्षको छ।
फिल्मका कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्यूसर लक्ष्मण कर्माचार्य र मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन्। राहुल राईको सुन्दर छायांकन रहेको यस फिल्मलाई रामप्रसाद चौधरी र विपिन मल्लले सम्पादन गरेका हुन् भने द्वन्द्व निर्देशन कुमार महर्जनको रहेको छ। नेसनल सिने ग्रुप प्रालिले वितरण गर्न लागेको यस फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। यस फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा र कृष्ण भारद्वाजको संगीत सुन्न पाइनेछ।

