ब्युटी न्युज नेपाल
काठमाडौँ, १ साउन
लोकप्रिय लोकदोहोरी गायक पशुपति शर्मा चलचित्रको नायक भएका छन् । आज काठमाडौँमा शुभ मुहुर्त गरिएको चलचित्र ‘तिन तिघ्रे क्या बिग्रे’मा उनी नायक भएका हुन् । यो चलचित्रको भोली शनिवारबाटै काठमाडौँबाट छायांकन सुरु हुँदै छ । (बिस्तृत समाचारको लागि कमेन्ट बक्समा राखिएको लिंक खोलेर पढ्नु होला ।)
दुई दशक अघि इन्जियिनरिङ पढेर भविष्यमा इन्जिनियर बन्ने सफलता साँचेर पशुपति शर्मा स्याङ्जाबाट काठमाडौँ आइका थिए । तर त्यति बेला आफ्ना साथीहरूको संगतले उनी गायनमा लागे । गायनमा व्यस्त भएपछि आफूले इन्जिनियर बन्ने सपना त्यागे ।
गायनबाटै देश विदेश घुम्नुका साथै राम्रो कमाई गरेका पशुपतिलाई निर्देशक प्रकाश भट्टले पशुपतिकै गीत मलाई अमेरिका पनि यही…मा अभिनय गराएका थिए । आज आफू चलचित्रको नायक हुनुको मुख्य श्रेय सोही कारण प्रकाश भट्टलाई जाने गरेको बताउँदै उनले भने,‘प्रकाश दाइ पहिलो पटक मलाई मेरै गीतमा मोडल बनाएर अभिनय सिकाउनु भयो । त्यसपछि मैले आफ्ना हरेक गीतमा अभिनय गरेँ र त्यही अभिनयबाट प्रेरित भएर निर्माता रघुनाथ सापकोटा दाइले आज चलचित्रमा नायक बनाउनु भएकोमा खुसी लागेको छ ।’
यो चलचित्रमा आफूले सकेको राम्रो काम गर्ने प्रतिबद्धता यी अभिनेताले जनाएका छन् । उनीसँगै यो चलचित्रबाट कमेडी च्याम्पियन वीथ नाइटका कलाकार प्रभात लामा र अर्का हास्य कलाकार बेगम नेपाली अर्थात् भट्भटे माइला पनि नायकमा डेब्यु गर्दै छन् । आफूहरू तीन जना यो चलचित्रको तीन तिघ्रे भएको पशुपतिले बताएका छन् । आफूलाई दर्शक श्रोताले गीत संगीतमा जति साथ दिए । यो चलचित्रमा पनि त्यत्तिकै साथ दिनु हुन्छ भन्ने विश्वास उनले व्यक्त गरेका छन् ।
तस्बिर – बद्री थापा, ब्युटी न्युज नेपाल

