चलचित्र ‘गौँथली’ को अग्रिम टिकट बुकिङ खुला


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३१ असार

शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘गौँथली’ को अग्रिम टिकट बुकिङ देशभर खुला गरिएको छ। राजधानीदेखि मोफसलसम्मका अधिकांश मल्टिप्लेक्स हलहरूले मंगलबारदेखि नै शो सार्वजनिक गर्दै दर्शकका लागि टिकट बिक्री सुरु गरेका हुन्।

नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स, आइएनआई, वान सिनेमाजलगायत प्रमुख हलहरूले चलचित्रका नियमित शो तय गरेका छन्। वितरक करण श्रेष्ठ ‘क्रेजी’का अनुसार अझै विभिन्न हलबाट शो थपिने क्रम जारी रहेकाले बिहीबारसम्म देशभर २०० भन्दा बढी शो उपलब्ध हुने अपेक्षा गरिएको छ। उनका अनुसार प्रारम्भिक बुकिङ र दर्शकको उत्साहले चलचित्रप्रति सकारात्मक संकेत देखिएको छ।

निर्माण टिमले प्रिमियरमा प्राप्त प्रशंसाले हलसम्म पनि राम्रो प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ। चलचित्रको कथा, कलाकारहरूको अभिनय र प्रस्तुतीकरणलाई दर्शक तथा समीक्षकले रुचाएको प्रतिक्रिया आएको जनाइएको छ।

कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकार अंशु ओली र प्रिन्स नेपाली पनि चलचित्रमा देखिएका छन्।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रको कथा डा. भोला रिजालले लेखेका हुन् भने पटकथा तथा संवादमा कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेको सहकार्य रहेको छ। चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले देशभर वितरण गर्नेछन्।