चलचित्र आशामा महेश र अञ्जनाको जोडी


ब्युटी न्युज नेपाल
काठमाडौँ, २६ असार

नेपाली चलचित्र ‘आशा’ औपचारिक रूपमा निर्माण घोषणा गरिएको छ। बिहीबार काठमाडौंमा आयोजित विशेष समारोहमा शर्मिला थापाको लगानीमा बन्न लागेको चलचित्रको घोषणा गर्दै कलाकार तथा प्राविधिक टोली सार्वजनिक गरिएको हो।

राजिव गुरुङको लेखन तथा निर्देशन रहने चलचित्रमा महेश त्रिपाठी र अञ्जना बराइली मुख्य भूमिकामा देखिनेछन्। उनीहरूसँगै सुशील सिटौला, शुशांक मैनाली, आशान्त शर्मा, केनिपा सिंह र कविता रेग्मीको पनि अभिनय रहनेछ।

निर्मात्री शर्मिला थापाका अनुसार ‘आशा’ पूर्ण रूपमा पारिवारिक कथामा आधारित चलचित्र हो। आधुनिक जीवनशैलीका कारण परिवारका सदस्यबीच बढ्दो दूरी र सम्बन्धको महत्वलाई भावनात्मक रूपमा प्रस्तुत गर्ने उद्देश्यले चलचित्र निर्माण गर्न लागिएको उनले बताइन्। बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबैले हेर्न मिल्ने पारिवारिक चलचित्र बनाउने लक्ष्य रहेको उनको भनाइ छ।

निर्देशक राजिव गुरुङले मनोरञ्जनसँगै दर्शकलाई सोच्न बाध्य बनाउने सशक्त कथा प्रस्तुत गरिने बताए। अभिनेता महेश त्रिपाठीले पनि फरक विषयवस्तु र बलियो कथाले आफूलाई आकर्षित गरेको उल्लेख गरे।

चलचित्रको छायांकन आगामी साउनको पहिलो साताबाट सुरु हुने र एक महिनाभित्र सम्पन्न गर्ने तयारी गरिएको निर्माण पक्षले जनाएको छ। चलचित्रलाई आगामी माघ १ गते देशभर प्रदर्शन गर्ने लक्ष्य राखिएको छ। चलचित्रमा रामकुमार श्रेष्ठ सह–लेखक तथा मुख्य सहायक निर्देशक, नरेन्द्र मैनाली छायाकार, युग भुसाल र समीर खरेल संगीतकार तथा किशोर आचार्य साउन्ड डिजाइनरका रूपमा आबद्ध छन्।

घोषणा कार्यक्रममा लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्‍याउँदै आएका ड्रेसम्यान कमल मिश्रलाई नगद ५१ हजार रुपैयाँसहित सम्मान गरिएको थियो। क्यान्सर उपचारपछि पुनः काममा फर्किएका मिश्रले सम्मानप्रति निर्माण टिमप्रति आभार व्यक्त गरे।