दलेदाइ भने हिरो, धिरेन शाक्यसँग चलचित्र तिरिमिरी झ्याईँ खेल्दै


ब्युटी न्युज नेपाल
काठमाडौँ, २५ असार

पूर्णतया हास्यव्यङ्ग्यमा आधारित नेपाली चलचित्र ‘तिरिमिरी झ्याइँ’ को औपचारिक शुभमुहूर्त सम्पन्न भएको छ। होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको शुभारम्भ वैदिक विधिअनुसार पूजाआजासहित कलाकार, निर्माण टोली र सञ्चारकर्मीहरूको उपस्थितिमा गरिएको हो। चलचित्रको छायाङ्कन आगामी असार २९ गतेदेखि सुरु हुने निर्माण पक्षले जनाएको छ।

आभास अधिकारीको कथा तथा अवधारणामा बन्न लागेको चलचित्रको निर्देशन समीरले गर्नेछन्। निर्देशक समीरले चलचित्रले दर्शकलाई सुरुदेखि अन्त्यसम्म हँसाउने विश्वास व्यक्त गरे। निर्माता प्रद्युम्न बोगटी (प्रबिन) ले उत्कृष्ट पारिवारिक कमेडी चलचित्र निर्माण गर्ने लक्ष्यका साथ आफूहरू अघि बढेको बताए। कार्यकारी निर्माता तथा कथाकार आभास अधिकारीले समाजका दैनिक जीवनका रमाइला घटना र व्यङ्ग्यात्मक पक्षलाई पर्दामा उतार्ने प्रयास गरिएको जानकारी दिए।

चलचित्रमार्फत ‘दले दाइ’का रूपमा परिचित कमेडियन सुमन कोइरालाले अभिनयमा डेब्यु गर्दैछन्। उनीसँगै धिरेन शाक्य, सरोज अर्याल, रियर राई, सुरज चौलागाईं, राज न्यौपाने, जय राम ढकाल, पुष्कर खतिवडा, राजश्री थापा र घनश्याम जोशीलगायत कलाकारको अभिनय रहनेछ। चलचित्रमा विशाल कक्षपतिको छायाङ्कन, अभिषेक कार्कीको सङ्गीत तथा गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाको पटकथा तथा संवाद रहनेछ। निर्माण टोलीले दर्शकलाई शुद्ध मनोरञ्जन दिने उद्देश्यसहित चलचित्र निर्माण अघि बढाएको जनाएको छ।