‘आ बाट आमा २’ असोज ३० मा आउने, क्रोएसिया राइट्स बिक्री


ब्युटी न्युज नेपाल
काठमाडौँ, २५ असार

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘आ बाट आमा २’ को क्रोएसिया प्रदर्शन अधिकार बिक्री भएको छ। चलचित्र प्रदर्शनअघि नै क्रोएसियास्थित ‘नेप इन्टरटेन्मेन्ट’ र ‘बुद्ध मार्ट’ ले प्रदर्शन अधिकार खरिद गरेका हुन्। निर्माता तथा निर्देशक चन्द्र पन्त र क्रोएसियाका वितरकबीच यस सम्बन्धी औपचारिक सम्झौता सम्पन्न भइसकेको छ।

निर्माण पक्षका अनुसार पछिल्लो समय क्रोएसियामा नेपाली समुदायको संख्या बढ्दै गएकाले त्यहाँ चलचित्रप्रति आकर्षण देखिएको हो। यसअघि अमेरिका, क्यानडा र जापानका लागि पनि चलचित्रको प्रदर्शन अधिकार बिक्री भइसकेको छ।

चन्द्र पन्तकै कथा र पटकथामा निर्माण भएको यो चलचित्र आगामी असोज ३० गते, बडादसैँको फूलपातीदेखि नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन हुने तयारीमा छ। वैदेशिक रोजगारीका कारण परिवारबाट टाढिएका सन्तान र उनीहरूको प्रतीक्षामा रहने आमाको भावनात्मक कथालाई चलचित्रको मुख्य विषय बनाइएको छ।

चलचित्रमा पल शाह, विपना थापा, आकाश श्रेष्ठ, प्रदीप रावत, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, सविन श्रेष्ठ, साइग्रेस पोखरेल, गजित विष्ट, दिलिप अखेडा र नरेन खड्कालगायत कलाकारको अभिनय रहेको छ। नेपालभर वितरणको जिम्मा आरआर फिल्म्सले लिएको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलले प्राप्त गरेको छ। प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा राम्रो व्यापार गरेपछि चलचित्रप्रति दर्शक र सिने क्षेत्रको उत्साह बढेको निर्माण पक्षले जनाएको छ।