यसकारण १२ भदौबाट २६ भदौमा सर्यो चलचित्र बेहुली


ब्युटी न्युज नेपाल
काठमाडौँ, २२ असार

आगामी हरितालिका तीजको अवसर पारेर भदौ २६ गते प्रदर्शनमा आउने गरी नेपाली चलचित्र ‘बेहुली’ को नयाँ रिलिज मिति घोषणा गरिएको छ। यसअघि भदौ १२ लाई प्रदर्शन मिति तय गरिएको भए पनि सो मितिमा भारतीय चलचित्र टक्सिससँग प्रतिस्पर्धा बढ्ने भएपछि निर्माण पक्षले दुई सातापछि सर्ने निर्णय गरेको हो। यही अवसरमा चलचित्रको पहिलो आधिकारिक पोस्टरसमेत सार्वजनिक गरिएको छ।

सार्वजनिक पोस्टरमा मुख्य कलाकार पारस बम ठकुरी र दिव्या रायमाझीलाई आकर्षक शैलीमा प्रस्तुत गरिएको छ। बेहुलीको पहिरनमा देखिएकी दिव्या पारसको अंगालोमा बाँधिएकी छन् भने पारसको हातमा लागेको हतकडीले उनीहरूको प्रेम र वैवाहिक यात्रामा आइपर्ने चुनौती तथा रहस्यको चित्रण गरेको देखिन्छ । पोस्टरले चलचित्रप्रति दर्शकमा उत्सुकता जगाउने आशा गरिएको छ।

सशान कँडेलले निर्देशन गरेको यस चलचित्रमा पारस र दिव्यासँगै सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, धनश्याम जोशी, सविन कट्टेल, दीपक गौली, विमल अनुविनय यादव र अविरल श्रेष्ठलगायत कलाकारहरूको अभिनय रहेको छ। विशेषतः अभिनेता सुशान्त कार्की पाँच वर्षपछि यही चलचित्रमार्फत अभिनयमा पुनरागमन गर्दैछन्। उनी पछिल्लो समय अस्ट्रेलिया बस्दै आएका छन् ।

भदौ १० मा कन्नड चलचित्र ‘टक्सिक’ प्रदर्शनमा आउने भएको छ । सोही कारण नेपाली चलचित्रहरूको रिलिज तालिका फेरबदल हुन थालेको छ। सोही कारण ‘बेहुली’ले पनि सुरक्षित प्रदर्शन समय रोज्दै भदौ २६ लाई नयाँ मिति तय गरेको हो।

यसमा कार्यकारी निर्मातामा शंकर कोइराला र रमेश सिलवाल तथा सह–निर्मातामा दुर्गा खरेल र शिशिर श्रेष्ठ रहेका छन्। अर्जुन पोखरेल प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता प्रताप सम्सेर राणा हुन्।

चलचित्रको कथा तथा पटकथा माधव शर्माले लेखेका हुन् भने संगीत अर्जुन पोखरेल, छायांकन नरेन्द्र मैनाली, सम्पादन विकास दाहाल र द्वन्द्व निर्देशन रोशन श्रेष्ठले सम्हालेका छन्।