ब्युटी न्युज नेपाल
काठमाडौँ, २१ असार
भदौ १९ गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ककाकिकी’ को पहिलो झलक सार्वजनिक गर्दै निर्माण टिमले औपचारिक रूपमा प्रचार अभियान सुरु गरेको छ। माया इन्टरटेन्मेन्टको प्रस्तुतिमा ‘कमेडी दरबार’ टिमले निर्माण गरेको फिल्मले ग्रामीण परिवेशमा आधारित हास्यप्रधान कथा प्रस्तुत गर्ने संकेत झलकमार्फत दिएको छ।
झलक सार्वजनिक कार्यक्रममा गौरी मल्ल, रेखा थापा, तृप्ति नाडकर, दिया मास्के, महेश त्रिपाठी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु) र पवन खतिवडा (म्याकुरी) लगायतका कलाकारले छायांकनका अनुभव सुनाएका थिए। फिल्ममा माउत्से गुरुङ, मनोज गजुरेल, मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, विश्वास तिमल्सिना (बीटी कान्छा), एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटाको पनि अभिनय रहेको छ।
निर्देशकद्वय बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले फिल्मलाई इमानदार प्रयासका साथ तयार गरिएको बताउँदै अब यसको मूल्यांकन दर्शकले गर्ने बताएका छन्। उनीहरूका अनुसार सम्पूर्ण कलाकार तथा प्राविधिक टोलीको मेहनतले फिल्मलाई अपेक्षाअनुसारको स्वरूप दिएको छ।
झण्डै तीन मिनेट लामो झलकमा ‘कुलेबारी’ गाउँको विकासका लागि योजना बनाइरहेका पात्रहरू देखिन्छन्। अभिनेत्री रेखा थापाले ‘गाउँका लागि यो काम गर्दा केही भइहाल्यो भने के हुन्छ होला?’ भन्ने संवाद बोल्छिन् भने गौरी मल्लले ‘एउटा सालिक त बनाउलान् नि’ भन्ने अभिव्यक्ति दिन्छिन्। त्यसको जवाफमा तृप्ति नाडकरले ‘हामी नै मिस्त्री भएपछि हाम्रो सालिक कसले बनाइदेला र?’ भन्दै हास्यरस थपेकी छन्।
फिल्मको कथा तथा लेखनमा बिक्की अग्रवालसँगै सरोज भण्डारी र विकास आर्यालको सहभागिता छ। निर्माता श्रद्धा प्रसाईं र सुमित्रा थापा हुन्। छायाङ्कन सुदीप बरालले गरेका छन् भने डिजिटल अधिकार ओएसआर डिजिटल र अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज इन्टरनेशनलसँग रहेको निर्माण पक्षले जनाएको छ।

