ब्युटी न्युज नेपाल
काठमाडौँ, १९ असार
निर्देशक अनिल बुढा मगरको निर्देशनमा बन्ने चलचित्र ‘रातो घेरा–द रेड सर्कल’ को बिहीबार ललितपुरस्थित बंगलामुखी मन्दिरमा शुभमुहूर्त गरिएको छ। पटकथा पूजा गर्दै औपचारिक रूपमा निर्माण शुभारम्भ गरिएको चलचित्रको छायांकन असार २५ गतेदेखि सुरु हुने निर्माण टिमले जनाएको छ।
विश्राम फिल्म्स प्रा।लि।को ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर मुख्य भूमिकामा देखिनेछन्। करिब दुई दर्जन कलाकारको अभिनय रहने फिल्मको अधिकांश छायांकन काठमाडौं उपत्यकामा गरिनेछ। चलचित्र आगामी मंसिर १८ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारी छ।
निर्देशक अनिल बुढा मगरका अनुसार सत्य घटनाबाट प्रेरित सामाजिक तथा भावनात्मक कथामा आधारित चलचित्रलाई कथावस्तु र प्राविधिक पक्ष दुवैमा सशक्त बनाउने प्रयास गरिएको छ। निर्माता जीवन गुरुङले अनुभवी कलाकार र दक्ष प्राविधिक टोलीको सहकार्यले चलचित्र दर्शकमाझ प्रभावशाली बन्ने विश्वास व्यक्त गरे।
चलचित्रमा मनोज थापा मगर र सागर आले मगरको संगीत रहनेछ भने कथा तथा पटकथा राजु स्याङ्तानले लेखेका हुन्। छायांकन शिशिर बिसंखेले गर्नेछन्। काठमाडौं उपत्यकाको वितरण अधिकार काफीया फिल्म्स र उपत्यका बाहिरको वितरण कुवेर सिने डिष्ट्रिब्युसनले लिएका छन्। शुभमुहूर्त कार्यक्रममा दयाहाङ राई र मिरुना मगरले सत्य घटनामा आधारित फरक कथाको चलचित्रमा काम गर्न पाउँदा उत्साहित रहेको बताएका थिए।


