ब्युटी न्युज नेपाल
काठमाडौँ, २० असार
आयंका फिल्म्सको प्रस्तुतीमा प्रियंका कार्कीले निर्माण गरेको यो नेपाली चलचित्र ‘मास्टर्नी’ आगामी ५ भदौमा रिलिज हुँदैछ । यसै क्रममा यो चलिचत्रको पहिलो झलक पोस्टर सार्वजनिक गरिएको छ । पोष्टरमा अभिनेत्री प्रियंका कार्कीको एकल तस्बिर छ । चलचित्रको शिर्ष भूमिकामा उनि नै रहेकी छिन् ।
चलचित्रलाई शुभेन्दु घोषले निर्देशन गरेका हुन्। चलचित्रमा प्रियंकाको साथमा आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, प्रमोद अग्रहरी, ऋचा शर्मा, अनुपविक्रम शाही, सिम्रन खड्का, रक्षा थापा, दिनेश काफ्ले लगायतका कलाकारको अभिनय रहेको छ ।
प्रियंका कार्कीको कथा रहेको चलचित्रको स्क्रिप्ट शान बस्नेतले तयार पारेका हुन् भने प्रियंका र शान मिलेर डाइलग लेखेका छन्। युवराज इन्दोरियाले खिचेको चलचित्रलाई राजा सिंह सिदुले सम्पादन गरेका छन् ।
चलचित्र नेपाली सहित अन्य ९ भाषामा एकसाथ रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ । प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्की निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा हुन् भने क्रिएटिभ निर्माताको रुपमा सिमोस सुनुवार रहेका छन् ।


