ब्युटी न्युज नेपाल
काठमाडौँ, १३ असोज
नेपाली चलचित्र ‘परान’ मा समावेश पहिलो गीत ‘ओइ भन्दानी बोलेन’को भिडियो आइतबार काठमाडौंमा आयोजित एक समारोहबिच सार्वजनिक गरिएको छ । दसैंको अवसर पारेर असोजको झमझम वर्षाबिच पनि वर्षाको पर्वाह नगरी छाता ओढेर यो गीतको भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक यो गीत विवाहको परिवेशमा केन्द्रित छ । गीत नृत्यप्रधान बनेको छ ।
दर्शकलाई नचाउने खालको यो गीतमा तीन जना गायक र दुई जना गायिकाले स्वर दिएका छन् । प्रमोद खरेल, यमन श्रेष्ठ, रिदम कंडेल, रचना रिमाल र सलिना बि.कको स्वर यो गीतमा सुन्न सकिन्छ । गीतका शब्द दीपकप्रसाद आचार्य र अनिश अधिकारीले लेखेका हुन् भने संगीत संयोजन रिदम कंडेल हो ।
मदनकृष्ण श्रेष्ठ, नीर शाह, पूजा चन्द, महेश त्रिपाठी, केकी अधिकारी, प्रविण खतिवडा, अञ्जना बराईलीलगायत कलाकारहरूले यो गीतको भिडियोमा नृत्य तथा अभिनयमार्फत प्रस्तुत छन् । गीतको भिडियोका कोरियोग्राफर सुनिल क्षेत्री हुन् । आयोजित गीत रिलिज कार्यक्रममा बोल्दै यसका निर्माता, निर्देशक तथा कलाकारहरूले गीतलाई दर्शकहरूले रूचाउने विश्वास व्यक्त गरे ।
दीपकप्रसाद आचार्यको निर्देशनमा बनेको ‘परान’ कात्तिक १४ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउनेछ । पूर्ण पारिवारिक कथामा बनेको फिल्मको ट्यागलाइन ‘सासले होइन, साथले चल्ने’ रहेको छ, जसले फिल्मको मूल सन्देश अर्थात् एकअर्काको साथको महत्वलाई जोड दिएको अनुमान गर्न सकिन्छ ।
व्यवासायिक घराना गोल्छा समूह तथा विज्ञापन एजेन्सी प्रिज्मा समूहको साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले ‘परान’ को निर्माण गरेको हो । बाइस्कोप सिनेमाको एकल ब्यानरमा यो पहिलो प्रोजेक्टका रूपमा निर्माण गरिएको फिल्म हो । फिल्मका निर्माताहरूमा रञ्जित आचार्य र शेखर गोल्छा रहेका छन् ।
दीपक आचार्यको कथा रहेको यस फिल्मको पटकथा तथा संवाद यम थापाले तयार पारेका हुन् । शिवराम श्रेष्ठको डीओपी रहेको फिल्मको सम्पादन मित्र डी. गुरूङले गर्दैछन् ।


