ब्युटी न्युज नेपाल
काठमाडौँ, १० असोज
अग्रज कलाकार हरिवंश आचार्यको छोरा हुन मोहित वंश आचार्य । तर गायनमा उनको छुट्टै परिचय छ । एक दशक अघि तिम्रो घरको वारी पारी…, मोहित भएछु…, छाहारी भै आउनु तिमी…जस्ता थुप्रै लोकप्रिय लोकपप गीत गाएर मोहित वंश आचार्य चर्चामा थिए । गायनमा आफ्नो छुट्टै परिचय बनाएर पनि रेष्टुरेन्ट व्यबसायमा व्यस्त भएपछि उनी गायनबाट केही समय टाढा रहेका थिए । लामो समयपछि उनी फेरी गायनमा फर्किएका छन् । यसपटक उनले लोकपप नभएर चलचित्रको लागि गीत गाएका छन् । आफ्नै गृह ब्यानरमा निर्माण भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’को लागि मोहितले नयाँ चलचित्र ‘सुन्तली माई…’ गायका हुन् । यो गीतमा उनलाई युगल स्वरमा गायिका समीक्षा अधिकारीले साथ दिएकी छन् ।
दशैँको फूलपाती अर्थात् असोज १३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ’हरिबहादुरको जुत्ता’मा समेटिएको यो नयाँ गीतको भिडियो शुक्रबार ओएसआर डिजिटल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । यो गीतलाई दिनेश थपलियाले लेखेका हुन् । जसमा वसन्त सापकोटाको संगीत छ । बसन्त पनि यो गीतबाट फेरी चलचित्र संगीतमा चर्चामा आउने देखिन्छ ।

गीतमा कुशल सिंहको संगीत संयोजन र श्याम श्वेत रसाइलीको मिक्सिङ्ग÷ मास्टरिङ्ग रहेको छ । यो गीतको भिडियोमा विक्रम स्वारको कोरियोग्राफी निकै राम्रो छ । यो भिडियोलाई कृष्ण बहादुर थापाले खिचेका छन् । जसमा नहकुल खड्काको सम्पादन छ ।
यो गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री वर्षा राउत अतिथि कलाकारको रुपमा प्रस्तुत भएका छन् । चलचित्रका कलाकार प्रकाश सपुत, दिब्य देवको पनि यसमा अभिनय रहेको छ । चलचित्रको कथा अनुसार यो गीतको भिडियो नृत्य प्रधान बनेको छ । निकै भव्य सेटमा छायांकन गरिएको गीतमा चलचित्रका बाँकी मुख्य कलाकार पनि प्रस्तुत छन् ।
दिपेन्द्र के खनाल निर्देशित यो चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन्। यसमा वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको छ । जसमा रहेका गीतमा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईले स्वर दिएका छन् ।


