प्रेमिल भावमा ‘वरिष्ठ बलराम’को ‘न्यौली बनैमा’


ब्युटी न्युज नेपाल
काठमाडौँ, ८ असोज

नेपाली चलचित्रमा अहिलेसम्म सर्बाधिक रुचाईएको जोडी कलाकार दयाहाङ राई र विजय बरालको मुख्य भूमिका रहेको चलचित्र ‘वरिष्ठ बलराम’ यही ६ कात्तिकबाट भाइटिकाको अवसरमा नेपालमा रिलिज हुँदैछ ।

यही चलचित्रको नयाँ गीत ‘न्यौली बनैमा’ को भिडियो आज ओएसआर डिजिटल  युट्युवबाट निर्माणपक्षले सार्वजनिक गरेको छ । चलचित्रको रिलिज नजिकिएको बेला गीतको भिडियो दर्शकमाझ ल्याइएको हो ।

यो गीतलाई प्रशान्त सिवाकोटा र शान्तीश्री परियारको स्वरमा रेकर्ड गरिएको छ । प्रशान्त शिवाकोटीको शब्द रचना र संगीत रहेको गीत प्रेमिल भावको छ ।

गीतमा एकअर्कालाई मन पराउने युगल जोडीको कथा छ । गीतमा प्रेमिकासँग सँगै जीवन विताउने सपना बोकेको प्रेमीले बताएका छन् । प्रेमिकाले भने प्रेमीको बानीव्यवाहारप्रति शंका व्यक्ति गरेकी छन् ।

मायामा शंका नगर्न गरेको प्रेमीको आग्रहमा प्रेमिका सहमत हुने गीतको भिडियो पनि आकर्षक छ । भिडियोमा सिनेमाका मुख्य दुई कलाकार विजय बराल र समृद्धि आर्यालको अभिनय छ । गीत र भिडियोले विजय र संबृद्धिको जोडी रहेको संकेत गरेको छ ।

चलचित्र ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । सम्पादन क्षेत्रमा आफ्नो फरक परिचय बनाएका सुरेन्द्र निर्देशनमा पनि चलचित्र कृ पछि जम्दै आएका छन् । चलचित्र ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ । यो चलचित्रमा पनि निर्देशक पौडेलकै कथा र सम्पादन छ । यसको पटकथा महेश दवाडीले लेखेका हुन् ।

वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् । सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायांकन चितवनका विभिन्न स्थानमा गरिएको हो ।

मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन् । प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ । यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।