‘वरिष्ठ बलराम’को दुई पोस्टर, दयाहाङ र विजयको प्रतिस्पर्धा


ब्युटी न्युज नेपाल
काठमाडौँ, २ असोज

आगामी ६ कात्तिक भाइटीकामा रिलिज हुने नेपाली चलचित्र ‘वरिष्ठ बलराम’को दुई पोस्टर आज सार्वजनिक भएको छ । सार्वजनिक पहिलो पोस्टरमा चलचित्रका मुख्य दुई कलाकार दयाहाङ राई र विजय बरालसँगै अन्य कलाकार पनि छन् । पोस्टरले दयाहाङ र बिजय बिच प्रतिस्पर्धाको भाव देखाएको छ ।

यो चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । आधा दर्जन सफल चलचित्र निर्देशन गरेका पौडेल नेपालका सार्थक चलचित्र सम्पादक हुने । हाल ‘वरिष्ठ बलराम’ पोस्ट प्रोडक्सनमा छ ।

‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ । निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् ।

मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन् । प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।
यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।

वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् । सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायांकन चितवनका विभिन्न स्थानमा गरिएको हो ।