‘मिसेस भोग नेपाल सिजन–४’ मा एलिजा गौतम पुनः ब्रान्ड एड्भोकेट


ब्युटी न्युज नेपाल प्रमुख
काठमाडौँ, ९ मंसिर

सौन्दर्यलाई बाहिरी आकर्षणमा मात्र सीमित नराखी महिलाको आत्मविश्वास, प्रतिभा, नेतृत्व क्षमता र सामाजिक पहिचानलाई प्राथमिकता दिँदै अघि बढिरहेको ‘मिसेस भोग नेपाल सिजन–४ : बियोन्ड द क्राउन’ मा एलिजा गौतम पुनः ब्रान्ड एड्भोकेटका रूपमा आबद्ध भएकी छन्।

हाउस अफ फेसन नेपालले आयोजना गर्दै आएको प्रतियोगितामा सञ्चारकर्मी तथा सामाजिक अभियन्ता गौतमको पुनः सहभागितालाई आयोजकले महिला सशक्तीकरणको अभियानसँग जोडेको छ। प्राइम टाइम टेलिभिजनकी निर्देशकसमेत रहेकी गौतम सञ्चार क्षेत्रसँगै विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहँदै आएकी छन्।

गौतमको पुनः आबद्धताले महिलालाई आफ्नो क्षमता पहिचान गर्न, आत्मविश्वासका साथ अघि बढ्न र समाजमा छुट्टै पहिचान स्थापित गर्न प्रेरणा मिल्ने आयोजकको विश्वास छ।

‘मिसेस भोग नेपाल’ ले विवाहित महिलाको प्रतिभा, व्यक्तित्व र क्षमतालाई उजागर गर्दै उनीहरूलाई नयाँ अवसर तथा सम्भावनासँग जोड्ने लक्ष्य राखेको छ। प्रतियोगिताले बाहिरी सौन्दर्यसँगै महिलाको विचार, नेतृत्व क्षमता, आत्मनिर्भरता र सामाजिक योगदानलाई पनि महत्त्व दिँदै आएको छ।

‘बियोन्ड द क्राउन’ अर्थात् ‘मुकुटभन्दा पर’ नारासहित आयोजना हुन लागेको यस संस्करणले सौन्दर्य प्रतियोगिताको परम्परागत परिभाषालाई फराकिलो बनाउने उद्देश्य राखेको छ। महिलाको आत्मसम्मान, पहिचान र सम्भावनालाई उत्सवका रूपमा प्रस्तुत गर्दै उनीहरूलाई आफ्ना सपना पछ्याउन तथा सामाजिक परिवर्तनमा योगदान दिन प्रोत्साहित गर्नु प्रतियोगिताको लक्ष्य रहेको आयोजकले जनाएको छ।

एलिजा गौतमको पुनः आबद्धतासँगै प्रतियोगिताले महिला सशक्तीकरण, आत्मविश्वास र सामाजिक प्रभावको सन्देशलाई थप व्यापक बनाउने अपेक्षा गरिएको छ।