ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ मंसिर
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच पूर्वाधार, ऊर्जा, पेट्रोलियम तथा धार्मिक पर्यटनसँग सम्बन्धित ६ वटा महत्वपूर्ण आयोजना शिलान्यास, उद्घाटन तथा हस्तान्तरण गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहबीच भएको द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा यी आयोजनासम्बन्धी कार्यक्रम सम्पन्न भएका हुन्।
ऊर्जा तथा पेट्रोलियम शिलान्यास तथा उद्घाटन
दुवै प्रधानमन्त्रीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरेका छन्। नेपाल र भारतको संयुक्त लगानीमा निर्माण हुने यो आयोजना संखुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा बन्नेछ। यसको अनुमानित लागत ९२ अर्ब ६७ करोड रुपैयाँ रहेको छ।
आयोजना निर्माणका लागि लगानी बोर्ड नेपाल र भारतीय कम्पनी एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनीबीच २०८० जेठ १८ गते परियोजना विकास सम्झौता भएको थियो।
यसैगरी, भारतसँगको व्यापारिक तथा पारवहन सम्बन्धलाई सहज बनाउने उद्देश्यले बनवासा सुक्खा बन्दरगाहको शिलान्यास गरिएको छ। धार्चुला–दार्चुला जोड्ने पक्की पुल उद्घाटन गरिएको छ।
सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन र झापामा निर्माण हुने टर्मिनलको पनि शिलान्यास गरिएको छ। त्यस्तै, मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन हस्तान्तरण गरिएको छ ।
जनकपुर–अयोध्या रेल सेवा पनि सुरु
यस भ्रमणको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा भारतको अयोध्या र नेपालको जनकपुरधाम जोड्ने सरयू–कमला एक्सप्रेस रेल सेवा उद्घाटन गरिएको छ। रामायण सर्किटअन्तर्गत सञ्चालन हुने यो रेल सेवाले दुई देशका महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सहरलाई प्रत्यक्ष रेलमार्गबाट जोड्नेछ।
अयोध्या रेलवे स्टेसनबाट उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र भारतीय रेलका उच्च अधिकारीहरूले जनकपुरधामतर्फ जाने रेललाई बिदाइ गरेका थिए। यस रेलमार्गमा जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धामलगायतका स्टेसनमा रेल रोकिनेछ।
जनकपुरधाम र अयोध्याबीच प्रत्यक्ष रेल सेवा सुरु भएपछि नेपाल र भारतबीच धार्मिक पर्यटन, सांस्कृतिक आदानप्रदान तथा सीमापार आवागमन थप सहज हुने छ। करिब ६०४ किलोमिटर दूरीको यो रेल सेवा सातामा एक पटक दुईतर्फी सञ्चालन हुने भारतीय रेल मन्त्रालयले जनाएको छ। निर्धारित तालिकाअनुसार प्रत्येक शनिबार दिउँसो १ः१० बजे जनकपुरधामबाट छुट्ने रेल आइतबार बिहान ८ः१० बजे अयोध्या क्यान्ट पुग्नेछ। त्यसैगरी, प्रत्येक सोमबार साँझ ५ः५० बजे अयोध्या क्यान्टबाट रेल नम्बर १५५९६० जनकपुरधामका लागि प्रस्थान गर्नेछ।








