शुभ मुहूर्तसँगै चलचित्र ‘पच्चीस पच्चीस’को छायांकन सुरु


ब्युटी न्युज नेपाल प्रमुख
काठमाडौँ, ९ मंसिर

कर्ण इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको सामाजिक हास्य चलचित्र ‘पच्चीस पच्चीस’को शुभ मुहूर्त गरिएको छ। बुधबार बिहान काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा पूजाआजा गर्दै चलचित्रको शुभ मुहूर्त गरिएको हो। शुभ मुहूर्तसँगै बुधबारबाटै चलचित्रको छायांकनसमेत सुरु भएको छ।

निर्देशक सुब्रत आचार्यका अनुसार चलचित्रको छायांकन ४० दिनको तालिकामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। चलचित्रमा अभिषेक खड्का, खुसी कार्की, अमित सुब्बा (भक्ते भाइ), सरोज खनाल, दीपाश्री निरौला, प्रमोद अग्रहरी, आशिष पुरुष, तेज गिरी, हेना नगरकोटी र निशा गौतमलगायत कलाकारको अभिनय रहनेछ।

दार्जिलिङका हास्य कलाकार तथा कन्टेन्ट क्रिएटर अमित सुब्बाले यही चलचित्रमार्फत नेपाली चलचित्रमा अभिनय यात्रा सुरु गर्दैछन्। सामाजिक विषयवस्तुलाई हास्यरसमा प्रस्तुत गरिने चलचित्रमा अनुभवी तथा नयाँ पुस्ताका कलाकारलाई एकसाथ देख्न पाइनेछ।

निर्देशक आचार्यका लागि ‘पच्चीस पच्चीस’ तेस्रो निर्देशकीय चलचित्र हो। यसअघि उनले ‘अधकट्टी’ र ‘सुश्री सम्पत्ति’ निर्देशन गरिसकेका छन्। चलचित्रको कथा सुब्रत आचार्य र जयाले तयार पारेका हुन् भने पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन्। चलचित्रको छायांकन निर्देशन हरि हुमागाईंले गर्नेछन्।

कर्ण कार्कीको निर्माणमा बन्न लागेको यो दोस्रो चलचित्र हो। यसअघि उनले ‘होस्टेल ३’ निर्माण गरेका थिए। चलचित्रका कार्यकारी निर्माता दीपेन्द्र गौतम हुन् भने धीरेन्द्र लाल कर्ण र मणिराज खड्का सहनिर्माताका रूपमा रहेका छन्। त्यस्तै, चलचित्रको लाइन प्रोडक्सनको जिम्मेवारी सरिता ढकाल, मनिषा राउत र प्रकाश कँडेलले सम्हाल्नेछन्।