सलमान खानका ‘सुल्तान’ छायांकारले खिच्दैछन् प्रदीपको ‘२६ करोड’


ब्युटी न्युज नेपाल प्रमुख
काठमाडौँ, ९ मंसिर

बलिउड अभिनेता सलमान खानको चर्चित चलचित्र ‘सुल्तान’सहित थुप्रै अन्तर्राष्ट्रिय चलचित्रमा छायांकन गरिसकेका पोल्यान्डका छायांकार आर्टुर जुराव्स्कीले नेपाली चलचित्र ‘२६ करोड’ खिच्ने भएका छन्। अभिनेता प्रदीप खड्का र बलिउड अभिनेता विवेक ओबेरोयकी छोरी सारा अरएल शाहको मुख्य भूमिका रहने चलचित्रको छायांकनका लागि आर्टुर नेपाल आइपुगेका छन्।

निर्देशक विकास सुवेदीको निर्देशनमा निर्माण हुन लागेको चलचित्रको छायांकनका लागि शनिबार नेपाल आएका आर्टुरले आइतबारदेखि नै चलचित्रको वर्कसपमा सहभागिता जनाएका छन्। हाल चलचित्रको वर्कसप भइरहेको र मंसिर १५ गतेदेखि छायांकन सुरु गरिने निर्माता सुभाष भुषालले जानकारी दिएका छन्।

पोल्यान्डका अनुभवी छायांकार आर्टुरले पोल्यान्ड, भारत, अमेरिका, स्विट्जरल्यान्ड र दक्षिण कोरियाका चलचित्र उद्योगमा काम गरिसकेका छन्। यसअघि उनले विकास सुवेदीकै निर्देशनमा बनेको नेपाली चलचित्र ‘सिरजरा’मा पनि छायांकन गरेका थिए। ‘२६ करोड’ उनीहरूबीचको दोस्रो सहकार्य हो।

आर्टुरले बलिउडमा सलमान खान अभिनीत ‘सुल्तान’, रानी मुखर्जी अभिनीत ‘मर्दानी’ र सञ्जय दत्त अभिनीत ‘भूमि’लगायत चलचित्रको छायांकन गरेका छन्। यी चलचित्रले भारतीय बजारसँगै अन्तर्राष्ट्रियस्तरमा समेत चर्चा कमाएका थिए।

पोलिस नेसनल फिल्म स्कुलबाट सिनेम्याटोग्राफीमा स्नातक गरेका आर्टुरको अनुभव अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रमा पनि फैलिएको छ। उनले छायांकन गरेका चलचित्रले युरोप, एसिया, अमेरिका र अस्ट्रेलियाका विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुरस्कार तथा सम्मान प्राप्त गरेका छन्। उनी बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सवअन्तर्गतको एसियन फिल्म एकेडेमीमा सिनेम्याटोग्राफी मेन्टरका रूपमा समेत आबद्ध भइसकेका छन्।

भारतीय चलचित्रबाहेक उनले अमेरिकी चलचित्र ‘हेड टु लभ’, दक्षिण कोरिया र पोल्यान्डको संयुक्त निर्माण ‘व्हेयर वुड यू लाइक टु गो’ तथा ‘लोकाटोर्का’ र ‘इज् पोद प्रोंद’लगायत चलचित्रको छायांकन गरेका छन्।

आगामी नयाँ वर्षमा प्रदर्शन गर्ने लक्ष्य राखिएको ‘२६ करोड’मा प्रदीप खड्का र सारा अरएल शाह मुख्य भूमिकामा रहनेछन्। सारा बलिउड अभिनेता विवेक ओबेरोयकी छोरी हुन्। अन्तर्राष्ट्रिय अनुभव बटुलेका छायांकार र नेपाली कलाकारको सहकार्यले चलचित्रलाई प्राविधिक तथा दृश्यात्मक रूपमा विशेष बनाउने अपेक्षा गरिएको छ।

किङ्गडम नेटवर्कको ब्यानरमा निर्माण हुने चलचित्रको लेखन तथा निर्देशन विकास सुवेदीले गर्दैछन्। चलचित्रमा उत्तम न्यौपानेको साउन्ड डिजाइन रहनेछ भने निर्माता सुभाष भुषालले नै संगीत तयार पार्नेछन्। गीतमा हर्क साउदको शब्द रहनेछ। निर्माण नियन्त्रणको जिम्मेवारी मनोज जोशीले सम्हाल्नेछन्। गत असोजको पहिलो साता भारतको मुम्बईस्थित ताज ल्यान्ड्स इन्ड होटलमा चलचित्रको औपचारिक घोषणा गरिएको थियो। घोषणा कार्यक्रममा बलिउड अभिनेता विवेक ओबेरोयसमेत सहभागी भएका थिए।