२३ फागुन देखि चौथो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव


ब्युटी न्युज नेपाल प्रमुख
काठमाडौँ, ८ मंसिर

कर्णालीको पर्यटन प्रवर्द्धन, चलचित्र छायांकनको सम्भावना विस्तार तथा स्थानीय कला–संस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित चौथो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किफ) आयोजना हुने भएको छ। महोत्सव आगामी २०८३ फागुन २३ गतेदेखि सुरु हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ।

महोत्सवको सुरुवात दैलेखको गुराँसमा आयोजना हुने गुराँस पर्यटन महोत्सवसँगै गरिनेछ। त्यसपछि फागुन २४ गते सुर्खेतस्थित होटल शुभमा कर्णाली पर्यटन तथा चलचित्र संवाद र विशेष चलचित्र प्रदर्शन आयोजना हुनेछ। सोही अवसरमा ‘कर्णाली हेरौँ, कर्णाली घुमौँ’ शीर्षकमा भिडियो प्रतियोगितासमेत सञ्चालन गरिने आयोजकले जनाएको छ।

महोत्सवअन्तर्गत कर्णाली अन्तर्राष्ट्रिय चलचित्र अवार्ड समारोह २०८४ वैशाख ११ गते काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजना हुनेछ। यसैगरी, सन् २०२७ को मे महिनामा भारतको सिक्किम र सिलिगुडीमा नेपाल–भारत पर्यटन तथा चलचित्र सहकार्य संवाद आयोजना गर्ने योजना रहेको महोत्सव निर्देशक चक्रबहादुर चन्दले जानकारी दिए।

कर्णालीलाई चलचित्र पर्यटनको गन्तव्य तथा छायांकनको प्रमुख केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित महोत्सव आयोजना हुँदै आएको छ। अपार पर्यटकीय, सांस्कृतिक तथा प्राकृतिक सम्भावना बोकेको कर्णालीमा पर्यटन र चलचित्रसम्बन्धी गतिविधि अपेक्षाकृत न्यून रहेको आयोजकको भनाइ छ।

‘जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र’ नारासहित अघि बढाइएको महोत्सवले ‘गन्तव्य कर्णाली’ अभियानलाई समेत प्राथमिकता दिएको छ। कर्णालीका कथा, जीवनशैली, भाषा, भेषभूषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको छ।

कर्णालीका पर्यटकीय तथा धार्मिक स्थल र चलचित्र छायांकनका सम्भावित स्थानलाई स्वदेशी तथा विदेशी चलचित्र निर्माता र निर्देशकसम्म पुर्‍याउने लक्ष्य महोत्सवले राखेको छ। यसका साथै स्थानीय कलाकार तथा चलचित्रकर्मीको पहिचान र प्रोत्साहन, गाउँगाउँमा नेपाली चलचित्र प्रदर्शन, चलचित्र साक्षरता अभियान तथा चलचित्र क्षेत्रका समसामयिक चुनौतीबारे बहस र छलफल सञ्चालन गरिनेछ। पर्यटन र जलवायु परिवर्तनको सन्देश प्रवाह गर्ने चलचित्रलाई विशेष सम्मान तथा प्रोत्साहन गरिने आयोजकले जनाएको छ।

महोत्सव संघीय सरकार, कर्णाली प्रदेश सरकार तथा स्थानीय तहसँगको समन्वयमा सञ्चालन गरिनेछ। रेडचेरी र टिमले सुरु गरेको यस महोत्सवको निर्देशन चक्रबहादुर चन्दले गर्दै आएका छन्।

महोत्सव घोषणा कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डित, दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसी, निर्माता तथा निर्देशक दीपकराज गिरी, आकाश अधिकारी र रेखा थापा, महोत्सवका सद्भावना दूत अभिनेता प्रदीप खड्का, निर्माता सन्तोष सेन, प्रेम पुरी, लेखक तथा निर्देशक रामशरण पाठक र कलाकार हिमेश पन्तलगायतको उपस्थिति थियो।

कार्यक्रममा महोत्सव निर्देशक चन्दले यसपटक पनि चलचित्र पर्यटन र जलवायु परिवर्तनका विषयलाई प्राथमिकताका साथ अघि बढाइने बताए। कर्णालीका पर्यटकीय तथा धार्मिक स्थललाई चलचित्र छायांकनका लागि आकर्षक गन्तव्यका रूपमा चिनाउने र स्थानीय चलचित्रकर्मीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान दिलाउने अभियान निरन्तर रहने उनको भनाइ थियो।

त्यस्तै, महोत्सवका सद्भावना दूत प्रदीप खड्काले किफले जलवायु परिवर्तनको मुद्दालाई अन्तर्राष्ट्रियस्तरमा उठाउँदै आएको उल्लेख गर्दै आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउने बताए। सिनेमा र पर्यटनलाई सँगसँगै अघि बढाउन महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने उनको विश्वास थियो। अभिनेता तथा निर्देशक दीपकराज गिरीले आफू काठमाडौँको रैथाने भए पनि कर्णालीको प्राकृतिक तथा सांस्कृतिक सुन्दरताले आकर्षित गरेको बताए। उनले आगामी दिनमा कर्णालीमै चलचित्र छायांकन गर्ने सम्भावना रहेको समेत उल्लेख गरे।