ब्युटी न्युज नेपाल प्रमुख
काठमाडौँ, ८ मंसिर
अभिनेता पल शाह र अभिनेत्री सनिशा भट्टराईको जोडीलाई नयाँ म्युजिक भिडियोमा देख्न सकिने भएको छ। गायिका मिलन नेवार र गायक मार्मिक लामाको स्वरमा रहेको नेपाली युगल गीत ‘सुनबुकी फूल’ को भिडियो सार्वजनिक भएको छ। गरिमा फिल्म्सको आधिकारिक युट्युब च्यानलमार्फत सोमबार दिउँसो भिडियो सार्वजनिक गरिएको हो।
राजनराज शिवाकोटी र गोविन्द भट्टको शब्द रहेको गीतमा राजनराज शिवाकोटीकै संगीत छ। गीतको संगीत संयोजन बिजेश्वर राज तण्डुकार र सञ्जीव बराइलीले गरेका छन्। यसको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ बिजेश्वर राज तण्डुकारले गरेका हुन्।
म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी देवेन्द्र पाण्डेले गरेका छन्। भिडियोमा पल शाह र सनिशा भट्टराई मुख्य भूमिकामा छन् भने कलाकार पुकार भट्टराईको पनि अभिनय देख्न सकिन्छ।
नेपाली मौलिक पहिरन, संस्कृति र सामूहिक नृत्यलाई प्राथमिकता दिइएको भिडियोमा पल र सनिशालाई परम्परागत नेपाली पहिरनमा सजिएका युवतीहरूको समूहसँग प्रस्तुत गरिएको छ। नेपाली सांस्कृतिक परिवेश र मनोरञ्जनात्मक नृत्यको संयोजनमार्फत भिडियो आकर्षक बनाउने प्रयास गरिएको छ।
भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन तथा कलरको काम बिजेश पौडेलले गरेका छन्। सहायक कोरियोग्राफी राजाराम सिम्खडाको छ। मेकअपमा दिपु पौडेल, ड्रेसमा सुजनी मल्ल ठाकुरी र आर्टमा जट्टा शंकरले काम गरेका छन्।
भिडियोको पोस्टर विजय बस्यालले तयार पारेका हुन्। विनोद पौडेल प्रोडक्सन म्यानेजर, लक्ष्मण पाण्डे स्टिल्स, हरि अधिकारी ग्रुप लिडर तथा राम तिमिल्सिना प्रोडक्सन हेडका रूपमा रहेका छन्। भिडियोको पोस्ट प्रोडक्सन लाटोकोसेरो फिल्म्सले गरेको हो। पल र सनिशाको अनस्क्रिन जोडीलाई पुनः एकसाथ प्रस्तुत गरिएको ‘सुनबुकी फूल’ लोक तथा नृत्यप्रधान गीत रुचाउने दर्शकलाई लक्षित गरी तयार पारिएको निर्माण पक्षले जनाएको छ। गीतको अडियो तथा भिडियो गरिमा फिल्म्सले निर्माण गरेको हो। निर्माण पक्षले भिडियो अनधिकृत रूपमा डाउनलोड गरी अन्य प्लेटफर्ममा पुनः अपलोड नगर्न आग्रहसमेत गरेको छ।








