निरुता र उत्तमको ‘सारथी’ले पायो युनिभर्सल सर्टिफिकेट


ब्युटी न्युज नेपाल 
काठमाडौँ, ९ मंसिर

अभिनेत्री निरुता सिंह र अभिनेता उत्तम प्रधानको मुख्य भूमिका रहेको नेपाली चलचित्र ‘सारथी’ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ। मंगलबार सेन्सर पास भएको चलचित्र आगामी शुक्रबार अर्थात् मंसिर ११ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।

युनिभर्सल सर्टिफिकेट प्राप्त गरेसँगै अब ‘सारथी’ सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन्। निर्देशक कुमार गजुरेलका अनुसार पारिवारिक कथामा आधारित चलचित्र हेरेपछि सेन्सर समितिका पदाधिकारीले पनि यसको विषयवस्तु र प्रस्तुतिको प्रशंसा गरेका छन्।

निर्देशक गजुरेलले चलचित्रको प्रचार सामग्री टिजर, गीत तथा ट्रेलरलाई पनि दर्शकले रुचाएको बताए। पारिवारिक कथालाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको चलचित्रले दर्शकको साथ पाउने उनको अपेक्षा छ।

चलचित्रमा निरुता सिंह, उत्तम प्रधान, गायत्री जोशी र गिरी विश्वकर्मा मुख्य भूमिकामा छन्। त्यस्तै, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीलगायत कलाकारको अभिनय रहेको छ।

किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको चलचित्रको छायांकन संकल्प भुजेलले गरेका हुन्। तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन्। कार्यकारी निर्मातामा बेकबहादुर विश्वकर्मा र नवीन श्रेष्ठ रहेका छन्। त्यस्तै, अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सहनिर्माताका रूपमा छन् भने अमिर केसीले लाइन प्रोड्युसरको जिम्मेवारी सम्हालेका छन्।

प्रशान्त शिवाकोटीको संगीत रहेको चलचित्रमा राजु खतिवडा मुख्य सहायक निर्देशक तथा यमुना आचार्य र आशिष श्रेष्ठ सहायक निर्देशकका रूपमा रहेका छन्। चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ। पारिवारिक कथावस्तु र चर्चित कलाकारको अभिनय समेटिएको ‘सारथी’ले प्रदर्शनसँगै दर्शकको कस्तो प्रतिक्रिया पाउने हो, त्यसको प्रतीक्षा गरिएको छ।