ब्युटी न्युज नेपाल
काठमाडौँ, ६ मंसिर
सान्भि इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण गरिएको नयाँ डान्सिङ गीत ‘जाला जोबन’ सार्वजनिक भएको छ। विवाहको मौसमलाई लक्षित गर्दै सार्वजनिक गरिएको यस गीतमा सलोन बस्नेत र मोडल विमला खत्रीको आकर्षक नृत्य तथा अभिनय देख्न सकिन्छ।
शोभित बस्नेतको निर्देशनमा तयार भएको गीतको भिडियोमा सलोन र विमलालाई जोडीका रूपमा प्रस्तुत गरिएको छ। सान्भि इन्टरटेन्मेन्टको यो पहिलो म्युजिक भिडियो हो। कम्पनीकी प्रमुख करिश्मा केसीले पहिलो प्रस्तुतिलाई दर्शक तथा श्रोताले माया गर्ने अपेक्षा व्यक्त गरेकी छन्।
गीत सार्वजनिक कार्यक्रममा निर्देशक शोभित बस्नेतले चलचित्र र म्युजिक भिडियोसँगै सिरिज तथा पोडकास्ट निर्माण गर्ने योजना रहेको जानकारी दिए। उनले आफू र बुहारी करिश्माले पर्दापछाडि रहेर काम गर्ने तथा छोरा सलोन बस्नेतलाई अगाडि बढाउने सोच बनाएको पनि बताए।
भिडियोमा अभिनय गरेकी मोडल विमला खत्री गीत सार्वजनिक भएपछि अस्ट्रेलिया फर्किने तयारीमा छिन्। उनी आफ्नो स्वदेश बसाइ लम्ब्याएर गीत सार्वजनिक कार्यक्रममा सहभागी भएकी हुन्। उनी भोलि अस्ट्रेलिया फर्किने बताइएको छ।
सिडी विजय अधिकारी र शान्ति श्री परियारको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत तथा मुक्त उदासको शब्द रचना रहेको छ। डिभाइन स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा मौसम हिमालीको कोरियोग्राफी रहेको छ भने सौरभ लामाले छायांकन गरेका छन्। ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको भिडियोको सम्पादन बन्दे प्रसादले गरेका हुन्।








