ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ मंसिर
भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार भारतका विभिन्न औपचारिक कार्यक्रममा सहभागिता जनाएका छन्। नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा उनलाई भारतीय सेनाको एक टुकडीले ‘गार्ड अफ अनर’ प्रदान गरेको छ भने उनले महात्मा गान्धीको समाधिस्थल पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन्।
राष्ट्रपति भवन परिसरमा आयोजित विशेष समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहलाई स्वागत गरेका थिए। त्यसपछि भारतीय सेनाको टुकडीले उनलाई सम्मानस्वरूप ‘गार्ड अफ अनर’ प्रदान गरेको हो।
यसअघि प्रधानमन्त्री शाह सोमबार बिहान नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरेका थिए। समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गरेपछि उनले आगन्तुक पुस्तिकामा आफ्नो सन्देशसमेत लेखेका छन्।
प्रधानमन्त्री शाहले आगन्तुक पुस्तिकामा महात्मा गान्धीप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै करुणा नै सर्वोच्च शक्ति र निस्वार्थ सेवा नै साँचो नेतृत्व भएको उल्लेख गरेका छन्।
भगवान् गौतम बुद्धको जन्मभूमि नेपालबाट आएको सन्दर्भ जोड्दै उनले गान्धीको विरासतमा त्यही अमर ज्योति देखेको बताएका छन्।
नेपाल र भारतबीचको सम्बन्धबारे उनले साझा भूगोलले मात्र नभई आस्था, आत्मीयता र चिरस्थायी मित्रताको सनातन विरासतले दुई देशलाई जोडेको उल्लेख गरेका छन्। साथै, गहिरो इमानदारी, पारस्परिक सम्मान र अटल विश्वासका साथ नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने नेपालको प्रतिबद्धता पनि उनले दोहोर्याएका छन्।
प्रधानमन्त्री शाहको भ्रमण कार्यतालिकाअनुसार सोमबार बिहान ११ बजे हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। त्यसपछि बिहान ११ः५० बजे दुवै देशका प्रतिनिधिमण्डलबीच औपचारिक वार्ता हुनेछ।
दिउँसो १२ः३५ बजे विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र तथा सम्झौतापत्र आदानप्रदान र दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा सञ्चारमाध्यमलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
त्यसपछि दिउँसो १ः१५ बजे भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन्। दिउँसो ३ः१५ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि रहेको छ।
भारत भ्रमणका सबै औपचारिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह सोमबार साँझ ४ः५० बजे नयाँदिल्लीबाट काठमाडौँका लागि प्रस्थान गर्ने कार्यतालिका छ। उनी साँझ ६ः३५ बजे काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री शाहको भारत भ्रमणलाई दुई देशबीचको ऐतिहासिक सम्बन्ध, आपसी विश्वास र द्विपक्षीय सहकार्यलाई थप विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ।








