ब्युटी न्युज नेपाल
काठमाडौँ, २४ कात्तिक
हास्यव्यङ्ग्यात्मक कथावस्तुमा निर्माण भएको नेपाली चलचित्र ‘तिरिमिरी झ्याइँ’ले प्रदर्शन मिति तय गर्दै आफ्नो पहिलो झलक सार्वजनिक गरेको छ । निर्माण पक्षले फस्टलुक पोस्टर सार्वजनिक गर्दै चलचित्र आगामी माघ २८ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने घोषणा गरेको हो ।
समीरको निर्देशनमा तयार भएको चलचित्रको पोस्टरमा पाँच कलाकारलाई फलामे बारभित्र कैद अवस्थामा प्रस्तुत गरिएको छ । पोस्टरमा आभास अधिकारी, सुमन कोइराला, रियर राई, सुरज चौलागाईं र सरोज अर्याल देखिएका छन् । उनीहरूको फरक–फरक हाउभाउ र भावभङ्गीले चलचित्र हास्यव्यङ्ग्यात्मक कथामा आधारित रहेको संकेत गर्छ । पोस्टर ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले डिजाइन गरेका हुन् ।
आभास अधिकारीको कथा तथा अवधारणामा तयार भएको चलचित्रले समकालीन नेपाली समाजका विभिन्न रमाइला, ठट्यौला तथा सामाजिक पक्षलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ । दर्शकलाई हँसाउनुका साथै सामाजिक परिवेशका विविध पक्षसँग जोड्ने उद्देश्य चलचित्रले राखेको छ ।
होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रमार्फत ‘दले दाई’ उपनामले परिचित हास्यकलाकार सुमन कोइरालाले ठूलो पर्दामा डेब्यु गर्दैछन् । चलचित्रमा वरिष्ठ अभिनेता धिरेन शाक्यसहित आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुमन कोइराला, सुरज चौलागाईं, राज न्यौपाने, जयराम ढकाल, राजश्री थापा र घनश्याम जोशीलगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा विशाल कक्षपतिको छायांकन, अभिषेक कार्कीको संगीत तथा सियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ । यसको पटकथा तथा संवाद गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले संयुक्त रूपमा तयार पारेका हुन् । पोस्टर तथा प्रचार सामग्रीको डिजाइन ट्राइडेन्ट कन्सेप्टले गरेको छ ।
प्रद्युम्न बोगटी (प्रविन) निर्माता रहेको चलचित्रमा आभास अधिकारी कार्यकारी निर्माता छन् । भूपेन्द्र सिटौला (नीरज), शम्भु कार्की, विनोद बुढाथोकी, दिनेश श्रेष्ठ र अनिल शर्मा सह–निर्माताका रूपमा रहेका छन् ।








