ब्युटी न्युज नेपाल
काठमाडौँ, २५ कात्तिक
चलचित्र ‘पाँच पाण्डव’लाई लिएर उठेको धार्मिक विवाद चलचित्र हेरेपछि निराधार रहेको हिन्दु धर्मगुरुहरूले बताएका छन् । सोमबार चलचित्र अवलोकन गरेपछि उनीहरूले यसमा हिन्दू धर्म, महाभारत वा धार्मिक आस्थामाथि चोट पुर्याउने कुनै पनि विषय नरहेको प्रतिक्रिया दिएका छन् । बरु समकालीन समाजको कथा बोकेको चलचित्र उत्कृष्ट बनेको भन्दै सबैले हेर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
चलचित्रको पोस्टर र ट्रेलर हेर्दा केही धार्मिक विषयवस्तुमा आपत्ति हुन सक्ने आशंका गरेर आफूहरूले यसअघि विरोध जनाएको धर्मगुरुहरूको भनाइ छ । तर, पूरा चलचित्र हेर्दा सामाजिक सञ्जालमा चर्चा गरिएजस्तो कुनै पनि आपत्तिजनक विषय नभेटिएको उनीहरूले स्पष्ट पारेका छन् ।
“चलचित्रमा द्रौपदी भन्ने पात्र नै छैन । तर पोस्टरमा त्यस्तो देखाइएको थियो । ट्रेलरमा पनि केही विषयले आशंका जन्माएपछि हामीले विरोध गरेका थियौँ,” चलचित्र हेरेपछि धर्मगुरुहरूले भने, “चलचित्रमा हिन्दू धर्मलाई ठेस पुग्ने कुनै कुरा छैन । हिन्दू धर्म, महाभारत, पाण्डव, गीता वा धर्मका अन्य पक्षलाई अपमान गर्ने काम गरिएको छैन । उत्कृष्ट चलचित्र बनेको छ, सबैले हेर्नुपर्छ ।”
बसन्त निरौलाको निर्देशनमा बनेको ‘पाँच पाण्डव’मा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला र इभा गिरी मुख्य भूमिकामा छन् । काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा दीपाश्री निरौला, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेललगायतका कलाकारको पनि अभिनय रहेको छ ।
नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्रकी निर्माता काली रानी श्रेष्ठ हुन् । यसअघि नवीनले गत वर्ष चलचित्र ‘लाज शरणम्’ निर्माण गरेका थिए । चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन् । लेखक पौडेलले यसलाई सामाजिक कथामा आधारित चलचित्रका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई आधार बनाएर समकालीन नेपाली समाजको कथा प्रस्तुत गरिएको छ ।
चलचित्रमा श्याम तामाङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन तथा रङ संयोजन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, गम्भीर विष्ट र विक्रम स्वाँरको कोरियोग्राफी तथा अर्जुन पोखरेलको संगीत रहेको छ । त्यस्तै, उत्तम न्यौपानेले ध्वनि संयोजन, सुजिल कर्माचार्यले पृष्ठभूमि संगीत र पुकार धिमालले भिएफएक्सको जिम्मेवारी सम्हालेका छन् ।
रोहित राज गौतम एचओपी तथा विष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर रहेको चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल हो । चलचित्रलाई आरआर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले देशव्यापी वितरण गरेका छन् ।








