बिग मुभिजमा बारकोको अत्याधुनिक ४के आरजीबी लेजर प्रोजेक्टर, अन्तर्राष्ट्रियस्तरको सिनेमा अनुभव अब नेपालमै


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ कात्तिक

काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा सञ्चालित मल्टिप्लेक्स बिग मुभिजले अत्याधुनिक प्रविधि र सुविधासहित आफ्नो सिनेमा हलको स्तरोन्नति गरेको छ। दर्शकलाई अन्तर्राष्ट्रियस्तरको सिनेमा अनुभव प्रदान गर्ने उद्देश्यले बिग मुभिजले विश्वप्रसिद्ध युरोपेली ब्रान्ड बारकोको ४के आरजीबी लेजर प्रोजेक्टरसहित अत्याधुनिक ध्वनि प्रणाली र सुविधासम्पन्न सिट जडान गरेको हो।

नेपालमा आधुनिक मल्टिप्लेक्स संस्कृतिको सुरुवात गर्ने पहिलो मल्टिप्लेक्सका रूपमा परिचित बिग मुभिजले आफ्नो स्थापनाको पहिचानलाई कायम राख्दै प्रविधि, ध्वनि, सिटिङ र हलको आन्तरिक सजावटमा व्यापक परिवर्तन गरेको जनाएको छ। कम्पनीले आफ्नो मूल नारा ‘एक्सपिरियन्स सिनेमा, एक्सपिरियन्स द डिफरेन्स’लाई सार्थक बनाउने लक्ष्यसहित हलको पुनर्निर्माण तथा स्तरोन्नति गरेको हो।

बिग मुभिजमा जडान गरिएको बारकोको एसपी४के–२०सी सिरिज ४० स्मार्ट लेजर प्रोजेक्टरमा २१ हजार ल्युमेन्स ब्राइटनेस र नेटिभ ४के रिजोलुसन (४०९६ × २१६०) रहेको छ। यसले चलचित्रका दृश्यलाई अझ स्पष्ट, चम्किलो र जीवन्त रूपमा प्रस्तुत गर्ने कम्पनीको दाबी छ। त्यस्तै, वास्तविक रङको अनुभूति दिलाउन ९८.५ प्रतिशतभन्दा बढी आरईसी २०२० तथा डीसीआई–पी३ कलर स्पेस सपोर्ट गर्ने प्रविधि जडान गरिएको छ।

दृश्यको गुणस्तरलाई थप प्रभावकारी बनाउन हलमा विभिन्न आकारका विशेष सिल्भर स्क्रिनसमेत राखिएका छन्। यसले प्रोजेक्टरबाट उत्पादित उच्च गुणस्तरको दृश्यलाई पर्दामा उत्कृष्ट रूपमा प्रस्तुत गर्न सहयोग गर्नेछ।

दृश्यसँगै ध्वनिको गुणस्तरलाई पनि विशेष प्राथमिकता दिइएको छ। बिग मुभिजमा ६४ च्यानल क्षमताको डल्बी एटमस थ्री–डी इमर्सिभ साउन्ड सिस्टम जडान गरिएको छ। परम्परागत साउन्ड सिस्टमभन्दा फरक यस प्रविधिमा प्रत्येक स्पिकरलाई स्वतन्त्र अडियो फिड उपलब्ध गराउने व्यवस्था छ।

हलको छत तथा चारैतिर जडान गरिएका स्पिकर र सीपी९५०ए साउन्ड प्रोसेसरको सहायताले एकैपटक १२८ वटासम्म साउन्ड अब्जेक्ट नियन्त्रण गर्न सकिने कम्पनीले जनाएको छ। यसबाट दर्शकले चलचित्रका दृश्यअनुसार चारैतिरबाट आउने ध्वनिको वास्तविक अनुभूति गर्न पाउनेछन्। विशेषगरी एक्सन तथा ध्वनिप्रधान चलचित्र हेर्दा यो प्रविधिले दर्शकलाई थप रोमाञ्चक अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।

दर्शकको आरामलाई ध्यानमा राख्दै हलमा लक्जरी तथा एर्गोनोमिक सिटिङ व्यवस्था गरिएको छ। बिग मुभिजमा २२ इन्चका २५५ वटा ‘च्याम्पियन सिरिज’ थिएटर कुर्सी राखिएका छन्। आधुनिक एर्गोनोमिक डिजाइन, गुणस्तरीय ल्यामिनेटेड कपडा र तीनवटा पोजिसनमा लक गर्न मिल्ने सुविधासहितका यी कुर्सीले चलचित्र हेर्दा सहजता प्रदान गर्नेछन्।

त्यस्तै, थप विलासी अनुभव चाहने दर्शकका लागि २९ इन्चका २९ वटा ‘रोयल लक्जुरिया’ क्रिम कलरका रिक्लाइनर सिटसमेत जडान गरिएको छ। यी सिटले दर्शकलाई आरामदायी र प्रिमियम सिनेमा अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ।

हलको आन्तरिक वातावरणलाई समेत नयाँ स्वरूप दिइएको छ। नयाँ कार्पेटिङ, ध्वनि नियन्त्रणमा सहयोग गर्ने अकोस्टिक वाल कभरिङ र आधुनिक प्रकाश व्यवस्थासहित हललाई आकर्षक तथा सुविधासम्पन्न बनाइएको छ।

बिग मुभिजका अध्यक्ष राजेन्द्र अर्यालले मंगलबार आयोजित पत्रकार सम्मेलनमा हलको व्यापक स्तरोन्नतिबारे जानकारी दिँदै प्रविधि र सुविधामा नयाँ मापदण्ड स्थापित गर्ने उद्देश्यले यो लगानी गरिएको बताए।

“नेपालको पहिलो मल्टिप्लेक्सको पहिचान बनाएको बिग मुभिजले प्रविधि र सुविधामा सधैँ पहिलो र अगाडि रहने आफ्नो इतिहासलाई यो व्यापक रिनोभेसनमार्फत पुनः प्रमाणित गरेको छ। अब बिग मुभिजमा चलचित्र हेर्नु पर्दामा दृश्य हेर्नु मात्र हुने छैन,” उनले भने, “यो पूर्ण रूपमा कथा र वातावरणलाई महसुस गर्ने एउटा अविस्मरणीय अनुभव हुने विश्वास हामीले लिएका छौँ।”

अध्यक्ष अर्यालका अनुसार नयाँ प्रविधि र सुविधासँगै बिग मुभिजमा दर्शकले उत्कृष्ट दृश्य, उच्चस्तरीय ध्वनि, आरामदायी सिट र समग्रमा स्तरीय सिनेमा अनुभव प्राप्त गर्नेछन्।

नयाँ प्रविधिको जडानसँगै बिग मुभिजले नेपाली सिनेमा प्रदर्शन क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको प्रविधि र सुविधाको नयाँ अभ्यास स्थापित गर्ने अपेक्षा गरिएको छ।