प्रहरी महानिरीक्षकबाट दानबहादुर कार्की बर्खास्त, मनोज केसी नयाँ आईजीपी


ब्युटी न्युज नेपाल
काठमाडौँ, १८ कात्तिक

सरकारले नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्दै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने र अपराध अनुसन्धान विभागका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को निर्णयअनुसार कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहने गरी प्रहरी महानिरीक्षकस्तरको प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा खटाइएको छ। मुलुकको वर्तमान शान्ति सुरक्षा अवस्थालाई सुदृढ बनाउने उद्देश्यले उक्त पद सिर्जना गरिएको मन्त्रिपरिषद् स्रोतले जनाएको छ।

सरकारले कार्कीलाई सिधै बर्खास्त गर्दा कानुनी जटिलता उत्पन्न हुन सक्ने देखिएपछि जिम्मेवारी परिवर्तन गर्दै प्रधानमन्त्री कार्यालय मातहत राख्ने निर्णय गरेको बताइएको छ। उनको स्थानमा नियुक्त भएका मनोज केसी यसअघि नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत थिए।

कार्कीको कार्यकाल पछिल्लो समय विभिन्न विवादमा परेको थियो। निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता भएको आरोप, प्रहरी कमान्ड तथा नियन्त्रणमा कमजोरी देखिएको विषय र प्रहरी परिचालनमा राजनीतिक हस्तक्षेप भएको भन्दै उनको आलोचना हुँदै आएको थियो।

विशेषगरी गत साता पत्रकार तथा सञ्चारमाध्यमका कार्यालयहरूमा प्रहरी परिचालन गरी पक्राउ गर्ने र धरपकड गर्ने घटनाले थप विवाद सिर्जना गरेको थियो। प्रधानमन्त्रीको सचिवालयका व्यक्तिहरूको निर्देशनमा प्रहरी परिचालन गरिएको र त्यसमा कार्कीको भूमिका रहेको आरोप लागेको थियो। उक्त घटनामा पक्राउ परेकाहरूको गिरफ्तारीलाई अदालतले गैरकानुनी ठहर गरेको विषयसमेत विवादको केन्द्रमा रहेको थियो।

कार्कीलाई गत वर्ष कात्तिक २४ गते तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो। उनले कात्तिक २६ गतेदेखि प्रहरी संगठनको नेतृत्व सम्हालेका थिए। २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा उनले काठमाडौँ उपत्यकाको प्रहरी कमान्ड सम्हालेका थिए।

यसअघि पनि नेपाल प्रहरीमा प्रहरी महानिरीक्षकलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने अभ्यास भएको थियो। तत्कालीन प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेललाई सरकारले पदबाट हटाएर राष्ट्रिय अनुसन्धान विभागमा सरुवा गरेको थियो। त्यसपछि ध्रुवबहादुर प्रधानलाई आईजीपी बनाइएको थियो। तर खरेलले सर्वोच्च अदालतबाट मुद्दा जितेर पुनः प्रहरी महानिरीक्षकको जिम्मेवारी प्राप्त गरेका थिए। त्यसपछि प्रधानलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरिएको थियो।

त्यस्तै, सुडान घोटाला प्रकरणमा मुछिएपछि तत्कालीन प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीलाई पनि सरकारले सुरक्षा सल्लाहकारको जिम्मेवारीमा सरुवा गरेको थियो। उनको स्थानमा रवीन्द्रप्रताप शाहलाई प्रहरी महानिरीक्षक नियुक्त गरिएको थियो।

सरकारको पछिल्लो निर्णयसँगै नेपाल प्रहरीको नेतृत्वमा परिवर्तन आएको छ। नयाँ प्रहरी महानिरीक्षक केसीसामु संगठनको कमान्ड सुदृढ बनाउने, प्रहरीको व्यावसायिकता कायम राख्ने र पछिल्लो समय खस्किएको प्रहरीप्रतिको जनविश्वास पुनःस्थापित गर्ने चुनौती रहनेछ।