ब्युटी न्युज नेपाल
काठमाडौँ, १८ कात्तिक
अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस एन्ड मिसेस हेरिटेज २०२६’मा नेपालबाट पूर्णिमा शाही ठकुरी र सुनिता आचार्यले प्रतिस्पर्धा गर्ने भएका छन्। आगामी नोभेम्बर २० देखि थाइल्यान्डको बैंककमा आयोजना हुने प्रतियोगितामा पूर्णिमाले ‘मिस’ र सुनिताले ‘मिसेस’ विधातर्फ नेपालको प्रतिनिधित्व गर्न लागेका हुन्।

प्रतियोगिताका लागि नेपालको आधिकारिक संस्था ग्रीन आर्ट्स मिडिया प्रालिले काठमाडौँको बत्तीसपुतलीस्थित द स्ट्र्यान्ड लाउन्जमा एक कार्यक्रम आयोजना गर्दै दुवै नेपाली प्रतिनिधिलाई सार्वजनिक गरेको हो।
कार्यक्रममा २१ वर्षीया पूर्णिमा शाही ठकुरीलाई ‘मिस हेरिटेज नेपाल २०२६’ र ३३ वर्षीया सुनिता आचार्यलाई ‘मिसेस हेरिटेज नेपाल २०२६’ को उपाधि तथा ताज प्रदान गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आधिकारिक प्रतिनिधिका रूपमा घोषणा गरिएको थियो।

कर्णाली प्रदेशकी पूर्णिमा हाल ब्याचलर अफ बिजनेस स्टडिज (बीबीएस) अध्ययनरत छिन्। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा उत्साहित रहेको बताउँदै उनले प्रतियोगितामार्फत नेपालको पहिचान, कला, संस्कृति र सम्पदालाई विश्वसामु चिनाउने प्रतिबद्धता व्यक्त गरिन्।
प्रतियोगिताका लागि नेपाल निर्देशक, पेजेन्ट निर्देशक तथा कोरियोग्राफर अनिला श्रेष्ठले दुवै प्रतिनिधिको तयारी र प्रशिक्षणको जिम्मेवारी सम्हाल्नेछिन्। उनले मेन्टरसिपमार्फत प्रतियोगीहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि आवश्यक तयारीमा विशेष भूमिका निर्वाह गर्ने जनाइएको छ।
कार्यक्रममा अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य, चर्चित फोटोग्राफर महेश प्रधान तथा ‘मिस इको इन्टरनेसनल नेपाल २०२६’ की विजेता एवं ‘मिस इको इन्टरनेसनल’को टप १० फाइनलिस्ट सेजल राजभण्डारीलगायतको उपस्थिति थियो।
कार्यक्रममा ग्रीन आर्ट्स मिडिया प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रवीणप्रसाद लाकौलले पूर्णिमा र सुनिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सांस्कृतिक सम्पदा, सौन्दर्य र प्रतिभालाई प्रभावकारी रूपमा प्रस्तुत गर्दै देशको गौरव बढाउने विश्वास व्यक्त गरे।
बैंककमा आयोजना हुने प्रतियोगितामा सहभागी भएर दुवै प्रतिनिधिले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान स्थापित गर्ने अपेक्षा गरिएको छ।








