काठमाडौं हरर फिल्म फेस्टको दोस्रो संस्करण सम्पन्न, नेपाली फिल्म ‘क्नार’ उत्कृष्ट


ब्युटी न्युज नेपाल
काठमाडौँ, १६ कात्तिक

नेपाली चलचित्रमा हरर तथा विधागत फिल्मको सम्भावना विस्तार गर्ने उद्देश्यसहित आयोजित ‘काठमाडौं हरर फिल्म फेस्ट’को दोस्रो संस्करण सम्पन्न भएको छ। कात्तिक १३ गतेदेखि रसियन हाउस काठमाडौंमा सञ्चालन भएको महोत्सव आइतबार चलचित्र प्रदर्शन तथा पुरस्कार वितरण समारोहसँगै समापन भएको हो।

महोत्सवमा नेपालसहित विश्वका विभिन्न देशका हरर तथा विधागत चलचित्र प्रदर्शन गरिएका थिए। प्रतिकूल मौसमका बाबजुद तीन दिनसम्म दर्शकको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।

महोत्सवको प्रतिस्पर्धाअन्तर्गत १८ छोटा चलचित्रमध्ये दर्शकको मतका आधारमा आकाश धिमाल निर्देशित नेपाली चलचित्र ‘क्नार’ सर्वश्रेष्ठ छोटा चलचित्र घोषित भयो। त्यस्तै, ६ फिचर चलचित्रमध्ये नादिम ताबेत निर्देशित फ्रान्स, लेबनान, कतार र साउदी अरेबियाको संयुक्त निर्माण ‘इन दिस डार्क आइसी यु’ सर्वश्रेष्ठ फिचर चलचित्र बन्यो।

समापन समारोहमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति ब्रजेश खनाल, नेपालस्थित रुसी दूतावासका उपनियोग प्रमुख रिनचेन राक्शायेभ, पूर्वमन्त्री गणेश शाह, रसियन हाउस काठमाडौंकी निर्देशक अनास्तासिया खोख्लोभा तथा नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठक सहभागी थिए।

समारोहमा वक्ताहरूले चलचित्रमार्फत नेपाल र रुसबीच सांस्कृतिक आदानप्रदानलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए। महोत्सवमा योगदान पुर्‍याउने स्वयंसेवक तथा सहयोगीलाई कदरपत्रसमेत प्रदान गरिएको थियो।

यस वर्ष २१ देशका २६ चलचित्र छनोट गरिएका थिए। तीमध्ये आठ फिचर र १८ छोटा चलचित्र थिए। पाँचवटा नेपाली निर्माण तथा सहनिर्माणका चलचित्र समावेश थिए। नेपाल–अस्ट्रेलियाको सहनिर्माण ‘मोक्ष’ पनि प्रदर्शन गरिएको थियो।

महोत्सव निर्देशक राशिक पाठकले नेपाली दर्शकमा हरर तथा विधागत चलचित्रप्रति बढ्दो रुचि देखिएको बताउँदै आगामी दिनमा नेपाली फिल्मकर्मीलाई यस्ता विधामा सिर्जना गर्न प्रोत्साहन गर्ने महोत्सवको उद्देश्य रहेको बताए।