दीपाश्री निरौला ‘फाइटर लेडी’का रूपमा ‘पाँच पाण्डव’मा


ब्युटी न्युज नेपाल
काठमाडौँ, १६ कात्तिक

अभिनेत्री दीपाश्री निरौला आगामी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पाँच पाण्डव’मा फरक र दमदार भूमिकामा देखिने भएकी छन्। यस चलचित्रमा आफूलाई दर्शकले एक जुझारु तथा निडर ‘फाइटर लेडी’का रूपमा देख्न पाउने उनले बताएकी छन्।

चलचित्रमा दीपाश्रीले भीमकी श्रीमतीको भूमिका निर्वाह गरेकी छन् भने भीमको भूमिकामा अभिनेता जितु नेपाल छन्। आफ्नो यसपटकको चरित्र विगतका चलचित्रमा निर्वाह गरेका भूमिकाभन्दा फरक रहेको उनको भनाइ छ।

“यसपटक मेरो चरित्र अलिक फरक छ। यो अलिकति फाइटर टाइपको भूमिका हो। मजदुरमाथि कसैले अन्याय गर्‍यो भने सबैभन्दा पहिले मेरो हातखुट्टा चल्छन्,” दीपाश्रीले आफ्नो भूमिकाबारे भनिन्।

चलचित्रमा आफ्नो प्रवेशलाई दर्शकले विशेष रूपमा मन पराउनेमा उनी विश्वस्त छिन्। डबिङका क्रममा नै आफ्नो भूमिकाका दृश्यले दर्शकबाट ताली, सिठी र हुटिङ पाउने महसुस भएको उनले बताइन्।

“मेरो प्रवेश हुने दृश्यहरू निकै धमाकेदार छन्। ती दृश्यमा एकदमै जुझारु नारीको उपस्थिति महसुस हुन्छ। श्रीमान्लाई पनि सुरक्षा दिने र उनको पक्षमा उभिने भूमिका छ,” उनले भनिन्।

चलचित्रमा दीपाश्रीको चरित्रको नाम ‘सितर्नी’ राखिएको छ। आफ्नो पात्रले संवादमा प्रयोग गर्ने ‘सितर्नी’ शब्द दर्शकको मुखमा झुण्डिने विश्वास पनि उनले व्यक्त गरेकी छन्। “फिल्ममा अरूलाई गाली गर्दा पनि म ‘सितर्नी’ भनेर गाली गर्छु। मलाई लाग्छ, यो शब्द दर्शकको मुखमा झुण्डिनेछ,” उनले भनिन्।

बसन्त निरौलाको निर्देशनमा तयार भएको चलचित्र ‘पाँच पाण्डव’ यही कात्तिक २० गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने तयारीमा छ। चलचित्रमा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरीलगायत कलाकारको अभिनय रहेको छ। यसैगरी सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री) पनि चलचित्रमा देखिनेछन्।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने निर्माता काली रानी श्रेष्ठ रहेकी छन्। नवीनले यसअघि गत वर्ष चलचित्र ‘लाज शरणम्’ निर्माण गरेका थिए।

सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेको ‘पाँच पाण्डव’ सामाजिक विषयवस्तुमा आधारित चलचित्र हो। लेखक पौडेलका अनुसार महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई आधार बनाएर समकालीन नेपाली समाजको कथा चलचित्रमा प्रस्तुत गरिएको छ।

श्याम तामाङको छायांकन रहेको चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन तथा गम्भीर विष्ट र विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ। चलचित्रलाई डल्बी एटमस साउन्ड प्रविधिमा तयार गरिएको निर्माण पक्षले जनाएको छ।

चलचित्रमा अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक (बीजीएम) र पुकार धिमालको भिएफएक्स रहेको छ। रोहित राज गौतम एचओपी तथा विष्णु बुढाथोकी प्रोडक्सन म्यानेजरका रूपमा रहेका छन्। चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ भने रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ।