ब्युटी न्युज नेपाल
काठमाडौँ, १६ कात्तिक
दसैँको अवसर पारेर प्रदर्शनमा आएका नेपाली चलचित्रमध्ये ‘कबड्डी ५– आफ्टर द फाइनल म्याच’ले बक्स अफिसमा आफ्नो वर्चस्व कायम गरेको छ। प्रदर्शनको १० दिनमै १० करोड रुपैयाँभन्दा बढी ग्रस व्यापार गरेको यो चलचित्र दसैँमा रिलिज भएका चार चलचित्रमध्ये सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस विवरणअनुसार ‘कबड्डी ५’ले कात्तिक १५ गतेसम्म १० करोड ७६ लाख ७३ हजार ७१५ रुपैयाँ ग्रस व्यापार गरेको छ। यस अवधिमा चलचित्रका ३ लाख ४६ हजार ४२७ वटा टिकट बिक्री भएका छन्। कात्तिक ६ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले प्रदर्शनको दोस्रो सातामा पनि दर्शकको आकर्षण कायम राखेको छ ।
यसअघि यस वर्षको दोस्रो सर्वाधिक कमाइ गर्ने चलचित्रको सूचीमा रहेको ‘पेन्सन पट्टा’लाई पछि पार्दै ‘कबड्डी ५’ दोस्रो स्थानमा पुगेको हो। ‘पेन्सन पट्टा’ले आइतबारसम्म १० करोड २८ लाख १८ हजार ४८८ रुपैयाँ ग्रस व्यापार गरेको बोर्डको तथ्यांकमा उल्लेख छ। संयोगवश यी दुवै चलचित्रमा अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको छ । यस वर्ष प्रदर्शनमा आएका नेपाली चलचित्रको सूचीमा पनि दोस्रो सर्वाधिक कमाइ गर्ने फिल्मका रूपमा उक्लिएको छ । चलचित्र गौँथलीपछि सबैभन्दा बढी कमाई गर्ने यो वर्षको दोस्रो चलचित्रको सूचीमा चलचित्र कबड्डी ५ परेको छ ।

दसैँमा प्रदर्शन भएका चलचित्रमध्ये कमाइका आधारमा दोस्रो स्थानमा ‘आ बाट आमा २’ रहेको छ। यस चलचित्रले २ लाख १३ हजार १९४ वटा टिकट बिक्री गर्दै ६ करोड २४ लाख ७० हजार १३० रुपैयाँ ग्रस व्यापार गरेको छ। यो चलचित्रमा पल शाह, आकाश श्रेष्ठ, मलिका महत, साइग्रेस पोखरेल, बिपना थापा, प्रदीप रावत, गजित बिष्टसहितका कलाकारहरुको अभिनय रहेको छ ।
त्यस्तै, ‘छ माया छपक्कै २’ले ३ करोड ३४ लाख ८४ हजार ४३५ रुपैयाँ कमाउँदै तेस्रो स्थान हासिल गरेको छ। चलचित्र ६ माया छपक्कै २ यो ६ करोड भन्दा माथिको व्यापार दोस्रो हप्तामा गर्ने आँकलन हाम्रो थियो तर दोस्रो सातामा चलचित्रको व्यापार सोचे अनुसारको हुन सकेन । यो चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, सनिशा भट्टराई, निर्मल शर्मा, दीपश्री निरौला, रविन्द्र झासहितका कलाकारहरुको अभिनय रहेको छ ।

निर्देशक विराज भट्टको एक्सन चलचित्र ‘१२ गाउँ २’ भने कमाइका हिसाबले चौथो स्थानमा छ। चलचित्रले ७४ हजार ८०३ वटा टिकट बिक्रीबाट २ करोड २९ लाख ५७ हजार ९८६ रुपैयाँ ग्रस व्यापार गरेको छ। यसको पहिलो भागले घरेलु बक्स अफिसमा झन्डै २० करोड रुपैयाँ कमाइ गरेको थियो।यो चलचित्रमा ब्यबसायिक रुपमा पूर्ण असफल भएको छ । यो चलचित्रले आफ्नो लगानीको आधा पैसा समेत उठाउन नसक्ने अवस्था रहेको छ ।
यसैबीच, बोर्डले अन्य प्रदर्शनरत चलचित्रको बक्स अफिस विवरण पनि सार्वजनिक गरेको छ। जसअनुसार ‘गौँथली’ले हालसम्म ९ लाख ४६ हजार ८३४ वटा टिकट बिक्री गर्दै २६ करोड ७ लाख ४६ हजार १८६ रुपैयाँ ग्रस व्यापार गरेको छ। यससँगै ‘गौँथली’ यस वर्षकै सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्रका रूपमा कायम छ । त्यस्तै, ‘बा : एक योद्धा’ले ३ करोड ५४ लाख ४० हजार २५६ रुपैयाँ ग्रस व्यापार गरेको बोर्डको विवरणमा उल्लेख छ।








