आनन्द कार्की र दुर्गेश थापाबीच पारिश्रमिक विवाद, दुर्गेशले सार्वजनिक गरे सम्झौता


ब्युटी न्युज नेपाल
काठमाडौँ, ९ कात्तिक

अग्रज गायक आनन्द कार्की र गायक तथा मोडल दुर्गेश थापाबीच गीत गाएबापतको पारिश्रमिकलाई लिएर यति बेला विवाद उत्पन्न भएको छ । दुर्गेस थापाको चर्चित दुश्मन हेरेको हेरै गाएबापत आनन्द कार्कीले पारिश्रमिक नपाएको बताएपछि यो विषय नेपाली संगीत क्षेत्रमा चर्चामा आएको हो। तर, दुर्गेशले भने सहमतिअनुसारको रकम भुक्तानी गरिसकेको दाबी गर्दै सम्झौतासमेत सार्वजनिक गरेका छन्।

गायक कार्कीले दुर्गेशको गीत ‘दुश्मन हेरेको हे¥यै’ मा स्वर दिएका थिए । यो गीत गत वर्षको सर्वाधिक सफल गीत हो । यस गीतको पारिश्रमिक नपाएको कार्कीले एक टेलिभिजन कार्यक्रममा सम्बन्धित सञ्चारकर्मीलाई अन्तरवार्ताको क्रममा बताएका छन् । उनको अन्तरवार्ता सार्वजनिक भएसँगै विवाद सुरु भएको हो । गीतमा कार्कीका साथै दुर्गेश थापा, समीक्षा अधिकारी र एलिना चौहानको स्वर रहेको छ।

गायक कार्कीको सो अन्तरवार्ता सार्वजनिक भएपछि दुर्गेशले विज्ञप्ति जारी गर्दै पारिश्रमिक भुक्तानी गरिसकेको स्पष्ट पारेका छन् । उनले आफ्नो दाबी पुष्टि गर्न पारिश्रमिकसम्बन्धी सम्झौतापत्र पनि सार्वजनिक गरेका छन्। उक्त सम्झौतामा गीत सार्वजनिक हुनुअघि नै सहमतिअनुसारको पारिश्रमिक प्राप्त गरेको उल्लेख गर्दै हस्ताक्षर गरिएको देखिन्छ । तर उनले कती पारिश्रमिक प्राप्त गरे भन्ने कुरा सो सम्झौता पत्रमा उल्लेख गरिएको छैन ।

दुर्गेशले कार्कीले उल्लेख गरेको अर्को चलचित्रको गीतबारे पनि आफ्नो धारणा सार्वजनिक गरेका छन्। उक्त गीत आफ्नो सिर्जना भए पनि चलचित्र परियोजनाका लागि तयार पारिएको र त्यसको निर्माण, व्यवस्थापन तथा भुक्तानीको जिम्मेवारी सम्बन्धित चलचित्र निर्माण पक्षको रहेको उनको भनाइ छ।

सिर्जनात्मक संलग्नता र परियोजनाको आर्थिक व्यवस्थापन फरक विषय भएको उल्लेख गर्दै दुर्गेशले घटनालाई सोहीअनुसार बुझिदिन आग्रह गरेका छन्। उनले नेपाली संगीत क्षेत्रका अग्रज कलाकारप्रति आफ्नो सम्मान रहेको पनि बताएका छन्।

कार्कीले पारिश्रमिक नपाएको बताएपछि सुरु भएको यो विवादमा दुवै कलाकारका भनाइ फरक देखिएका छन्। दुर्गेशले भुक्तानी भइसकेको दाबी गरे पनि सार्वजनिक रूपमा उठेको विषयले कलाकारबीचको सहमति, पारिश्रमिक र आर्थिक पारदर्शिताबारे बहस सिर्जना गरेको छ । आफुले दुर्गेश थापाको संगीतमा एउटा चलचित्रमा समेत गीत गाएको सो त्यो सम्बन्धि समेत पारिश्रमिक नपाएको पनि कार्कीले बताएका छन् ।