ब्युटी न्युज नेपाल
काठमाडौँ, २१ असोज
अन्तर्राष्ट्रिय लोक संस्कृति तथा नृत्य क्षेत्रको प्रतिष्ठित संस्था फेडरेसन अफ इन्टरनेसनल डान्स फेस्टिभल्स (FIDAF) को बोर्ड अफ डाइरेक्टरमा नेपालका आरसी कोइराला ‘रामचन्द्र’ पुनः निर्विरोध निर्वाचित हुनुभएको छ।
दक्षिण कोरियाको चेओनन सहरमा हालै सम्पन्न FIDAF को कार्यकारी समिति बैठक तथा अधिवेशनबाट कोइराला चार वर्षे कार्यकालका लागि ३३ सदस्यीय कार्यकारी बोर्डमा सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको हो। अधिवेशनमा विश्वका ११२ राष्ट्रका १४२ जना प्रतिनिधि तथा पदाधिकारीको सहभागिता रहेको थियो।
एभरेस्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्षसमेत रहनुभएका कोइराला विगत २६ वर्षदेखि नेपालमा निरन्तर आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलासँग आबद्ध हुनुहुन्छ। उहाँले यसअघि पनि FIDAF को बोर्ड अफ डाइरेक्टर तथा एसिया महादेशका लागि उपाध्यक्षको जिम्मेवारी सम्हालिसक्नुभएको छ।
नेपाली कला, संस्कृति, परम्परा तथा लोकनृत्यलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न कोइरालाले लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ। उहाँकै नेतृत्वमा ८५ भन्दा बढी देशमा नेपाली सांस्कृतिक प्रतिनिधिमण्डलको सहभागिता तथा सांस्कृतिक आदान–प्रदानका कार्यक्रम सञ्चालन भएको जनाइएको छ।
FIDAF को बोर्ड अफ डाइरेक्टरमा पुनः निर्विरोध निर्वाचित हुनुभएपछि विभिन्न संस्कृतिविद्, कलाकार तथा कला–संस्कृतिसँग सम्बन्धित संघसंस्थाले कोइरालालाई बधाई तथा शुभकामना दिएका छन्।
उहाँको पुनःनिर्वाचनले नेपाली लोककला, संस्कृति र परम्परालाई अन्तर्राष्ट्रिय मञ्चमा थप प्रभावकारी रूपमा प्रस्तुत गर्न तथा संरक्षण, संवर्द्धन र प्रवर्द्धनका क्षेत्रमा नयाँ अवसर सिर्जना हुने अपेक्षा गरिएको छ। साथै, विश्वभरका विभिन्न मुलुकसँग नेपालको सांस्कृतिक सम्बन्ध विस्तारमा समेत यसले योगदान पुग्ने विश्वास लिइएको छ।








