प्राची तोमर ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ को चौथो रनरअप


ब्युटी न्युज नेपाल
काठमाडौँ, २२ असोज

मलेसियामा सम्पन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा नेपालकी प्राची तोमरले चौथो रनरअपको उपाधि जितेकी छिन्। अन्तर्राष्ट्रिय पेजेन्टको मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै प्राचीले यो सफलता हासिल गरेकी हुन्।

हाउस अफ फेसन नेपालका अनुसार प्रतियोगितामा चौथो रनरअपको उपाधिसँगै प्राचीले ‘क्विन अफ एजुकेसन’ को विशेष उपाधिसमेत प्राप्त गरेकी छिन्। शिक्षा, ज्ञान, व्यक्तिगत विकास तथा महिलालाई शिक्षामार्फत सशक्त बनाउने विषयमा उनको प्रतिबद्धतालाई सम्मान गर्दै उक्त विशेष उपाधि प्रदान गरिएको हो।

प्रतियोगिताको विभिन्न चरणमा प्राचीले आत्मविश्वास, शालीनता, दृढता र उद्देश्यपूर्ण प्रस्तुतिमार्फत आफूलाई प्रस्तुत गरेकी थिइन्। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै उनले हासिल गरेको उपलब्धिले नेपाली पेजेन्ट क्षेत्रको अन्तर्राष्ट्रिय उपस्थितिलाई थप बलियो बनाएको आयोजक पक्षको भनाइ छ।

प्राचीको सहभागिता र सफलतालाई नेपाली महिलाका लागि प्रेरणादायी उपलब्धिका रूपमा समेत लिइएको छ। विशेषगरी शिक्षा, आत्मविश्वास र व्यक्तिगत विकासलाई प्राथमिकतामा राख्दै महिलाले आफ्नो क्षमता प्रस्तुत गर्न सक्छन् भन्ने सन्देश उनको सहभागिताले दिएको छ।

‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा नेपालका तर्फबाट सहभागी भएर चौथो रनरअपको उपाधि जित्नुका साथै ‘क्विन अफ एजुकेसन’ को विशेष उपाधि हासिल गर्नु प्राचीको व्यक्तिगत उपलब्धिसँगै नेपाली फेसन तथा पेजेन्ट क्षेत्रका लागि पनि उल्लेखनीय अन्तर्राष्ट्रिय सफलता बनेको छ।