रहेनन अफबिट स्टार नाना पाटेकर, पाँच दशक लामो अभिनय यात्राको अन्त्य


ब्युटी न्युज नेपाल
काठमाडौँ, २२ असोज

बलिउडमा अफ बिट स्टारका रुपमा परिचित भारतीय चलचित्रका दिग्गज अभिनेता नाना पाटेकरको बिहीबार बिहान ७५ वर्षको उमेरमा निधन भएको छ। गोवास्थित डोना पाउला निवासमा हृदयघात भएपछि उनलाई तत्काल मणिपाल अस्पताल लगिएको थियो। चिकित्सकले करिब ४५ मिनेटसम्म निरन्तर सीपीआर दिएर बचाउने प्रयास गरे पनि उनलाई बचाउन सकेनन्। बिहान ५ः२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

विश्वनाथ पाटेकर अर्थात् नाना पाटेकरको जन्म सन् १९५१ जनवरी १ मा महाराष्ट्रको रायगड जिल्लास्थित मुरुड–जञ्जिरामा भएको थियो। उनका पिता दिनकर पाटेकर कपडा व्यवसायमा संलग्न थिए भने आमा निर्मला गृहिणी थिइन्। सामान्य पारिवारिक पृष्ठभूमिबाट आएका नानाले बाल्यकालमै संघर्षको सामना गर्नुपरेको थियो।

उनको स्कुले जीवन पनि संघर्षपूर्ण रह्यो। मुम्बईको समर्थ विद्यालयमा प्रारम्भिक शिक्षा लिएका नानाले किशोरावस्थामै परिवारको आर्थिक अवस्थाका कारण काम गर्न थालेका थिए। करिब १३ वर्षको उमेरमा उनले मुम्बईमा चलचित्रका पोस्टर बनाउने काम गर्थे। उनले त्यतिबेला मासिक करिब ३५ रुपैयाँ कमाउने गरेको र कामका लागि लामो दूरी पैदल हिँड्ने गरेको विभिन्न अन्तर्वार्तामा बताएका थिए।

स्कुले जीवनदेखि नै रंगमञ्चमा रुचि

स्कुले जीवनदेखि नै रंगमञ्चमा रुचि राख्ने नानाले पछि मुम्बईको सर जे.जे. स्कुल अफ आर्ट तथा सर जे.जे. इन्स्टिच्युट अफ एप्लाइड आर्टमा अध्ययन गरे। एप्लाइड आर्टमा डिप्लोमा गरेपछि उनले केही समय कमर्सियल आर्टिस्टका रूपमा काम गरे। तर उनको वास्तविक पहिचान भने रंगमञ्चबाट निर्माण भयो। मराठी रंगमञ्चमा काम गर्दै उनले आवाज, संवाद, हाउभाउ र चरित्रलाई गहिराइमा प्रस्तुत गर्ने आफ्नै शैली विकास गरे।

सन् १९७८ मा ‘गमन’बाट चलचित्र यात्रा सुरु गरेका नाना पाटेकरले सुरुवाती चरणमा विभिन्न चरित्र निर्वाह गरे। सन् १९८९ को ‘परिन्दा’ले उनलाई राष्ट्रियस्तरमा चर्चित बनायो। त्यसपछि ‘प्रहार’, ‘अंगार’, ‘क्रान्तिवीर’, ‘तिरंगा’, ‘खामोशी ः द म्युजिकल’, ‘अब तक छप्पन’, ‘अपहरण’, ‘राजनीति’लगायत चलचित्रमा उनले प्रभावशाली अभिनय गरे। ‘सलाम बम्बे!’ले उनलाई अन्तर्राष्ट्रिय दर्शकमाझ समेत चिनायो।

नाना तीनपटक राष्ट्रिय चलचित्र पुरस्कार विजेता थिए। ‘परिन्दा’का लागि सर्वश्रेष्ठ सहायक अभिनेता, ‘क्रान्तिवीर’का लागि सर्वश्रेष्ठ अभिनेता र ‘अग्निसाक्षी’का लागि पुनः सर्वश्रेष्ठ सहायक अभिनेताको राष्ट्रिय पुरस्कार उनले प्राप्त गरेका थिए। सन् २०१३ मा भारत सरकारले उनलाई पद्मश्रीबाट सम्मानित गरेको थियो।

गम्भीर र शक्तिशाली भूमिकाका लागि परिचित नानाले हास्य अभिनयमा पनि उत्तिकै लोकप्रियता कमाए। सन् २००७ को ‘वेलकम’मा उनले निर्वाह गरेको ग्याङ्स्टर ‘उदय शेट्टी’को चरित्र दर्शकमाझ निकै लोकप्रिय बन्यो। उनले ‘वेलकम ब्याक’मा पनि यही चरित्र दोहोर्याए। पछिल्लो समय ‘हाउसफुल ५’, ‘ओ रोमियो’ लगायतका चलचित्रमा समेत उनी सक्रिय थिए।

अभिनयसँगै नाना समाजसेवामा पनि सक्रिय थिए। अभिनेता मकरन्द अनासपुरेसँग मिलेर स्थापना गरेको ‘नाम फाउन्डेसन’मार्फत महाराष्ट्रका खडेरीपीडित तथा समस्यामा परेका किसानलाई सहयोग गर्दै आएका थिए। यही सामाजिक योगदानका कारण पनि उनी महाराष्ट्रमा विशेष सम्मानित थिए।

चलचित्र क्षेत्र शोकमा

नानाको निधनको खबरसँगै भारतीय चलचित्र क्षेत्र शोकमा डुबेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति सी.पी. राधाकृष्णनले उनको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन्। मोदीले नानाले आफ्नो अभिनयको विविधता र सिर्जनात्मकतामार्फत भारतीय चलचित्रमा ठूलो योगदान दिएको बताएका छन्।

अभिनेता अक्षय कुमारले नानासँग ‘वेलकम’ र ‘हाउसफुल ५’मा काम गरेको स्मरण गर्दै उनको आवाज, अभिनयको तीव्रता र मौलिक शैलीलाई सम्झिएका छन्। अभिनेता प्रकाश राज, रितेश देशमुख, मनिषा कोइराला, परेश रावल, राजिनीकान्तलगायतले पनि सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन्।

राजकीय सम्मानसहित अन्त्येष्टि

महाराष्ट्र सरकारले नाना पाटेकरको अन्त्येष्टि पूर्ण राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ। उनको पार्थिव शरीर गोवाबाट पुणे ल्याएर डोणजेस्थित फार्महाउसमा अन्तिम दर्शनका लागि राखिने र त्यहीँ अन्त्येष्टि गरिने बताइएको छ। पछिल्लो विवरणअनुसार बिहीबार दिउँसो करिब ४ बजे शासकीय सम्मानसहित अन्तिम संस्कार गर्ने तयारी गरिएको छ।

करिब पाँच दशक लामो अभिनय यात्रामा नाना पाटेकरले भारतीय चलचित्रलाई अनेकौँ अविस्मरणीय चरित्र दिएका छन्। ती चरित्र, उनको दमदार आवाज, संवाद प्रस्तुतिको शैली र अभिनयको विशिष्टताका कारण नाना पाटेकरको नाम भारतीय चलचित्र इतिहासमा लामो समयसम्म स्मरणीय रहनेछ।