नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा प्रविण लाल दासको उम्मेदवारी


ब्युटी न्युज नेपाल
काठमाडौँ, २१ असोज

सिरहाका युवा नेता प्रविण लाल दासले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनले ३५ वर्षमुनिको युवा क्लस्टरतर्फबाट मधेश प्रदेशको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका हुन् ।

त्रिचन्द्र कलेजबाट नेपाल विद्यार्थी संघको राजनीतिमा प्रवेश गरेका दासले विद्यार्थी राजनीतिमा विभिन्न जिम्मेवारी सम्हाल्दै संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका छन् । उनले नेविसंघको इकाइ उपाध्यक्षदेखि केन्द्रीय सदस्यसम्मको जिम्मेवारी सम्हालिसकेका छन् ।

विद्यार्थी जीवनदेखि नै राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका दासले विद्यार्थी आन्दोलनबाट प्राप्त अनुभवलाई पार्टी राजनीतिमा समेत निरन्तरता दिँदै आएका छन् । युवा पुस्ताको सहभागिता बढाउने, नयाँ पुस्ताको आवाजलाई पार्टीको नेतृत्व तहसम्म पुर्‍याउने तथा संगठनलाई थप सुदृढ बनाउने विषयलाई आफूले प्राथमिकतामा राखेको उनले बताएका छन् ।

राजनीतिसँगै सामाजिक सम्बन्ध र आध्यात्मिक चेतनालाई समेत महत्व दिँदै आएका दास युवामाझ सक्रिय नेताका रूपमा परिचित छन् । यसपटकको महाधिवेशनमा ३५ वर्षमुनिका मधेश प्रदेशका युवाको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका उनले पार्टीको केन्द्रीय तहमा नयाँ पुस्ताको उपस्थिति बलियो बनाउने उद्देश्य रहेको बताएका छन् ।

विद्यार्थी आन्दोलनका क्रममा हासिल गरेको अनुभव, संगठनमा गरेको योगदान र युवासँगको निरन्तर सम्बन्धलाई आफ्नो उम्मेदवारीको आधार बनाएका दासले मधेशका युवा, विद्यार्थी तथा नयाँ पुस्ताका अपेक्षालाई पार्टीको केन्द्रीय नेतृत्वसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्रिचन्द्र कलेजबाट सुरु भएको उनको राजनीतिक यात्रा विद्यार्थी आन्दोलन हुँदै नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदको उम्मेदवारीसम्म आइपुगेको छ । दासले आफ्नो उम्मेदवारीलाई नयाँ पुस्ताको प्रतिनिधित्व र नेतृत्वमा युवाको सहभागिता विस्तार गर्ने अवसरका रूपमा अघि सारेका छन् ।