‘कबड्डी ५’को ‘थाक खोला’मा दयाहाङ–मिरुनाको प्रेम र नोकझोक


ब्युटी न्युज नेपाल
काठमाडौँ, १९ असोज

रामबाबु गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतीक्षित चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को नयाँ गीत ‘थाक खोला’ सार्वजनिक भएको छ। चलचित्रको कथा र पात्रको सम्बन्धलाई केन्द्रमा राखिएको गीतले दर्शकमा चलचित्रप्रतिको उत्सुकता थप बढाउने अपेक्षा गरिएको छ।

निर्माण टिमले सोमबार बाँसुरी फिल्म्सको आधिकारिक युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो। गीतमा कालीप्रसाद बास्कोटाको स्वर, शब्द र संगीत रहेको छ। संगीत संयोजन, गिटारवादन तथा मिक्सिङ–मास्टरिङ रिकेश गुरुङ किजले गरेका छन्। गीतमा हेमन्त कान्छा रसाइलीले सारंगी र कृष्ण लिम्बूले बेस गिटारमा साथ दिएका छन्।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ र सिर्जना गुरुङलाई प्रस्तुत गरिएको छ। विशेषगरी दयाहाङ राईको मिरुना, सिर्जना र रिश्मासँगको सम्बन्ध तथा उनीहरूबीच हुने रमाइलो नोकझोकलाई भिडियोमा रोचक ढंगले प्रस्तुत गरिएको छ।

गीतमा प्रेम, सम्बन्ध, आकर्षण र पात्रहरूबीचको भावनात्मक उतारचढावलाई कथाकै शैलीमा समेटिएको छ। दयाहाङको तीन महिला पात्रसँगको सम्बन्ध र उनीहरूबीचको रमाइलो संवाद तथा नोकझोकले गीतलाई मनोरञ्जनात्मक बनाउनुका साथै चलचित्रको कथाबारे कौतुहलता समेत सिर्जना गर्छ।

‘थाक खोला’को अर्को आकर्षण यसको दृश्यात्मक पक्ष हो। भिडियोमा थाक खोलाको प्राकृतिक सौन्दर्यसँगै सेताम्य हिमाल, हरियाली डाँडापाखा र स्थानीय परिवेशलाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ। प्राकृतिक दृश्यले गीतको भावलाई थप जीवन्त बनाएको छ।

निर्माण पक्षले भिडियोमा छुट्टै नृत्य वा कोरियोग्राफीलाई प्राथमिकता दिएको छैन। चलचित्रको मूल कथाशैलीलाई निरन्तरता दिँदै पात्रहरूको प्रेम, सम्बन्ध, नोकझोक र भावनालाई नै भिडियोको केन्द्रमा राखिएको छ।

‘कबड्डी’ शृंखलाको पाँचौँ तथा अन्तिम भागका रूपमा प्रचार गरिएको ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’मा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङलगायत कलाकारको अभिनय रहेको छ। नयाँ गीत सार्वजनिक भएसँगै चलचित्रको कथा र पात्रहरूको सम्बन्धबारे दर्शकमाझ थप चासो बढेको छ।