पत्रकार कृष्ण भुसाल ‘गीतकार सङ्घ नेपाल पत्रकारिता सम्मान–२०८२’बाट सम्मानित


ब्युटी न्युज नेपाल
काठमाडौँ, १७ असोज

नेपाली गीत–सङ्गीत, साहित्य र स्रष्टाका गतिविधिलाई पत्रकारितामार्फत निरन्तर प्रवर्द्धन गर्दै आएका पत्रकार कृष्ण भुसाल ‘गीतकार सङ्घ नेपाल पत्रकारिता सम्मान–२०८२’बाट सम्मानित भएका छन्।

गीतकार सङ्घ नेपालको १७औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहमा मिलाप मासिकका सम्पादक तथा हिमालय टाइम्सका उपसम्पादक भुसाललाई नेपाली गीत–सङ्गीत, साहित्य तथा स्रष्टासम्बन्धी विषयलाई सञ्चारमाध्यममार्फत उजागर गर्न पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो।

वार्षिकोत्सव समारोहमा गीत–सङ्गीत तथा साहित्य क्षेत्रको विकास, प्रवर्द्धन र संरक्षणमा योगदान पुर्‍याउने विभिन्न स्रष्टा, गीतकार तथा व्यक्तित्वलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। सोही अवसरमा भुसाललाई पत्रकारिता क्षेत्रबाट गीत–सङ्गीत र साहित्यको प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको हो। लामो समयदेखि पत्रकारितामा सक्रिय भुसालले विशेषगरी साहित्य, गीत–सङ्गीत, कला तथा सिर्जनात्मक क्षेत्रका गतिविधिलाई समाचार, अन्तर्वार्ता, समीक्षा तथा अन्य सामग्रीमार्फत पाठकमाझ पुर्‍याउँदै आएका छन्। उनले नेपाली स्रष्टा र सिर्जनाका विषयलाई सार्वजनिक बहसमा ल्याउनसमेत भूमिका खेल्दै आएका छन्।

सम्मान ग्रहणपछि भुसालले आफूलाई सम्मानका लागि योग्य ठानेकोमा गीतकार सङ्घ नेपाल तथा निर्णायक समितिप्रति आभार व्यक्त गरे। उनले प्राप्त सम्मानले आफूलाई आगामी दिनमा अझ जिम्मेवार भएर काम गर्न थप ऊर्जा र प्रेरणा मिलेको बताए।

‘यो सम्मान मेरो मात्र होइन, मेरो कलममाथि विश्वास गर्ने सम्पूर्ण शुभेच्छुक, सहकर्मी र पाठकप्रतिको पनि सम्मान हो,’ भुसालले भने। उनले नेपाली गीत–सङ्गीत, साहित्य र स्रष्टाका सिर्जना तथा गतिविधिलाई सञ्चारमाध्यमले निरन्तर प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिए। सिर्जनाकर्मसँगै त्यसको दस्तावेजीकरण, प्रचार–प्रसार र सार्वजनिक पहुँच पनि नेपाली कला तथा साहित्यको समृद्धिका लागि उत्तिकै महत्वपूर्ण रहेको उनको धारणा छ।

पत्रकारितासँगै साहित्यमा रुचि राख्ने भुसालका जीवन, समाज र समसामयिक परिवेशसँग सम्बन्धित कविता विभिन्न सञ्चारमाध्यममा प्रकाशित हुँदै आएका छन्। उनले विभिन्न स्रष्टाका डेढ दर्जनभन्दा बढी पुस्तक सम्पादनमा समेत योगदान दिएका छन्। गीतकार सङ्घ नेपालको १७औँ वार्षिकोत्सव समारोहमा गीत–सङ्गीत क्षेत्रका स्रष्टा, गीतकार, कलाकार, साहित्यकार तथा साहित्यप्रेमीहरूको सहभागिता रहेको थियो।