ब्युटी न्युज नेपाल
काठमाडौँ, १७ असोज
गीतसंगीतमार्फत जीवनका दुःख, संघर्ष र तनावलाई केही समय भुलेर रमाउन प्रेरित गर्ने नयाँ गीत ‘मनमा पिर भएनी नाँचिन्छ’ सार्वजनिक गरिएको छ । गीतकार तथा संगीतकार कस्तुप पन्तको सिर्जनामा तयार भएको गीतमा लोकप्रिय गायिका प्रिती आलेको स्वर र अभिनय रहेको छ ।
मर्मस्पर्शी गीत सिर्जनाका लागि परिचित पन्तले यसपटक भने फरक स्वादको नृत्यप्रधान गीत प्रस्तुत गरेका हुन् । रमाइलो डान्सिङ बिटमा तयार भएको गीतमा जीवनका अनेकौँ समस्या र मानसिक तनावका बीच पनि केही क्षण मन खोलेर हाँस्न, रमाउन र नाच्नुपर्ने सकारात्मक सन्देश दिइएको छ ।
रमेश सेन्चुरीको संगीत संयोजन रहेको गीत मारुनी डिजिटलमा रेकर्ड गरिएको हो । गीतको मिक्सिङ तथा मास्टरिङ कुमार रानाले गरेका छन् ।
गीतको भिडियोमा प्रिती आलेले गायनसँगै आकर्षक नृत्य प्रस्तुत गरेकी छन् । स्मृति तिमिल्सिना ‘गुरुआमा’को निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा विकास आले मगर र भागिरथा गाहा मगरले सहायक कोरियोग्राफी गरेका छन् ।
करण चैसिरले छायांकन गरेको भिडियो नविन घर्ती मगरले सम्पादन गरेका हुन् । गीतको सरल, ठेट र सहज शब्द तथा ऊर्जावान् प्रस्तुतिका कारण सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा समेत चर्चा पाउन थालेको निर्माण पक्षले जनाएको छ । विशेषगरी टिकटक र फेसबुक रिल्समा गीतका अंश प्रयोग हुन थालेका छन् ।
मनमा रहेका पीडा र तनावलाई केही समय भए पनि भुलेर जीवनलाई उत्सवका रूपमा लिन प्रेरित गर्ने भएकाले गीत सबै उमेर समूहका श्रोता–दर्शकलाई लक्षित गरिएको छ ।






