उपासना र कुन्दनको चलचित्र ‘भिडियोटेप’को छायांकन ३१ दिनमा सम्पन्न


ब्युटी न्युज नेपाल
काठमाडौँ, १७ असोज

उपासना सिंह ठकुरी र कुन्दन मान शाक्यको मुख्य भूमिका रहेको हरर चलचित्र ‘भिडियोटेप’को छायांकन ३१ दिनमा सम्पन्न भएको छ । एप्पल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भइरहेको चलचित्रको अधिकांश छायांकन उपल्लो मुस्ताङमा गरिएको हो ।

निर्माण पक्षका अनुसार चलचित्रको छायांकन भदौको पहिलो साताबाट उपल्लो मुस्ताङमा सुरु गरिएको थियो । त्यहाँको प्राकृतिक तथा भौगोलिक परिवेशलाई कथाको आवश्यकताअनुसार प्रयोग गरिएको चलचित्रको केही दृश्य भने काठमाडौँमा पनि खिचिएको छ । काठमाडौँमा तीन रात चलचित्रको छायांकन गरिएको निर्माण पक्षले जनाएको छ ।

चलचित्रमा उपासना र कुन्दनसँगै अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु राउत, जीवन अधिकारी, शेखर चापागाईं र सिद्धार्थ सिंहलगायत कलाकारको अभिनय रहेको छ ।

ओविद उद्दिनको निर्देशन रहेको चलचित्रमा वशिष्ट प्रधानले डीओपीको जिम्मेवारी सम्हालेका छन् । महेश बराल मुख्य सहायक निर्देशकका रूपमा छन् भने ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर रहेका छन् ।

निर्देशक उद्दिनले चलचित्रको छायांकन निर्धारित समयमै सम्पन्न हुनुमा सम्पूर्ण टिमको मेहनत प्रमुख कारण रहेको बताए । उनले हरर विधाका चलचित्र आफूलाई पहिलेदेखि नै मन पर्ने भएकाले यही जनराको चलचित्र निर्माणतर्फ आकर्षित भएको पनि बताए ।

चलचित्रको छायांकनका क्रममा कलाकार तथा प्राविधिक टोलीले विभिन्न चुनौतीका बीच काम गरेको निर्माण पक्षले जनाएको छ । विशेषगरी उपल्लो मुस्ताङको भौगोलिक परिवेशमा गरिएको छायांकनलाई चलचित्रको महत्वपूर्ण पक्षका रूपमा हेरिएको छ ।

एप्पल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भइरहेको चलचित्रको प्रदर्शन मिति भने तय भइसकेको छैन । निर्माण पक्षले पोस्ट प्रोडक्सनको काम अघि बढाउँदै उपयुक्त समयमा प्रदर्शन मिति सार्वजनिक गर्ने जनाएको छ ।