ब्युटी न्युज नेपाल
काठमाडौँ, १७ असोज
दशैंको पारिवारिक उल्लास र गाउँघरको रमाइलो माहोल समेटिएको चलचित्र ‘परिवार’को दशैं गीत ‘रातो टिका’ सार्वजनिक गरिएको छ । आगामी कात्तिक १३ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको सार्वजनिक गीतमा दशैंको टीका, पिङ र पारिवारिक जमघटको खुसीलाई नृत्यप्रधान शैलीमा प्रस्तुत गरिएको छ ।
गीतको भिडियोमा चलचित्रका कलाकार कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, लक्ष्मीनाथ तिमिल्सिना, विनिता बस्नेतलगायतको अभिनय तथा नृत्य देख्न सकिन्छ । दशैंको टीका लगाएपछिको उल्लासलाई प्रस्तुत गरिएको भिडियोमा लिङ्गे पिङ, चिटिक्क सजाइएका घर र सफा आँगनमार्फत गाउँघरको दशैंको झल्को दिने प्रयास गरिएको छ ।
गीत म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । चलचित्रको यसअघि फस्टलुक र टिजर सार्वजनिक भइसकेका छन् । ती सामग्रीलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको निर्माण पक्षले जनाएको छ ।
रे अफ आर्ट प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र शाही फिल्म प्रोडक्सन र विशआई फिल्मससँगको सहकार्यमा तयार भएको हो । चलचित्रको निर्देशन मदन थापाले गरेका छन् । ‘कहिले श्रीमानको वार, कहिले श्रीमतीको वार, मिल्दै जाँदा बन्यो परिवार’ भन्ने नारासहित निर्माण गरिएको चलचित्रमा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, विनिता बस्नेत, लुनिभा तुलाधर, लक्ष्मीनाथ तिमिल्सिना, बारिश सोना र प्रियान्शु थापालगायत कलाकारको अभिनय छ ।
प्रेम थापा र गणेश उपाध्यायको लेखन रहेको चलचित्रमा निरज कँडेल डीओपी, विशेष महर्जन र जयन्द्र कुँवर छायांकार तथा एनबी महर्जन एक्सन निर्देशकका रूपमा रहेका छन् ।
रमेश शाही निर्माता रहेको चलचित्रमा कैलाश रावल कार्यकारी निर्माता तथा आरम्भ रिजाल सह–निर्माताका रूपमा छन् । चलचित्र कात्तिक १३ गतेदेखि प्रदर्शनमा आउनेछ ।






